१८ जेठ, चितवन । “साहित्य, कला र संस्कृतिको प्रवर्द्धन, बागमती सभ्यताको संवर्द्धन” भन्ने मूल सङ्कल्पका साथ चितवनको नारायणगढमा सञ्चालित ‘बागमती साहित्य महोत्सव–२०८३ (दोस्रो संस्करण)’ १३ बुँदे ऐतिहासिक बागमती घोषणापत्र जारी गर्दै भव्य रूपमा सम्पन्न भएको छ।
बागमती प्रदेश सरकार, संस्कृति तथा पर्यटन मन्त्रालय हेटौँडाको आयोजना तथा भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानको संयोजनमा जेठ १६ र १७ गते उद्योग वाणिज्य सङ्घ चितवनको सभाहलमा महोत्सव सञ्चालन भएको हो।
बागमती प्रदेशका माननीय मुख्यमन्त्री इन्द्रबहादुर बानियाँबाट दीप प्रज्वलन गरी समुद्घाटन गरिएको उक्त महोत्सवको शुरुआतमा नेपालको बहुसांस्कृतिक पहिचान झल्किने आकर्षक झाँकी तथा नृत्यहरू प्रस्तुत गरिएका थिए।
उद्घाटन सत्रमा थारु, कुमाल, नेवार, तामाङ, मगर र गुरुङ समुदायका रैथाने सांस्कृतिक प्रस्तुति र सारङ्गीको सुमधुर धूनले सभाहलमा उपस्थित देशैभरिका साहित्यकार तथा द्रष्टालाई आकर्षित गरेको थियो। महोत्सवलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले साहित्य, संस्कृति र परम्पराले नै नेपालको वास्तविक पहिचान र राष्ट्रियतालाई जोगाएको उल्लेख गर्दै मानव जीवनका वास्तविक सङ्घर्ष, भोगाइ र जीवन्त अनुभवहरूबाट नै उत्कृष्ट एवं कालजयी साहित्यको सिर्जना हुने धारणा राख्नुभयो।
सोही अवसरमा बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाको संयुक्त लगानी एवं प्रयासमा भरतपुरमा एउटा सुविधायुक्त सांस्कृतिक ग्राम तथा आर्ट ग्यालरी निर्माणका लागि तत्काल पहल गर्ने महत्त्वपूर्ण सामूहिक प्रतिबद्धता समेत व्यक्त गरिएको थियो।
भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष प्रा.डा. नारायणप्रसाद खनालको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा बागमती प्रदेश सरकार संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले स्वागत मन्तव्य राख्नुभएको थियो। समारोहमा विशिष्ट अतिथिका रूपमा बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठ, सहकारी तथा गरिबी निवारणमन्त्री बिनू रायमाझी पौडेल, माननीय गीता गुरुङ, जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी, भरतपुर महानगरपालिकाका प्रमुख चित्रसेन अधिकारी तथा रत्ननगर वाङ्मय प्रतिष्ठानका अध्यक्ष प्राज्ञ रामबाबु घिमिरे लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।
उद्घाटन सत्रकै अवसरमा प्रा.डा. लक्ष्मण गौतमले “बागमती प्रदेशको नेपाली साहित्यस् हिजो, आज र भोलि” विषयक विचारोत्तेजक बीज वक्तव्य प्रस्तुत गर्नुभएको थियो, जसले निर्देश गरेको मार्गचित्रलाई घोषणापत्रको मूल जग बनाइएको छ। कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव बालकृष्ण थपलियाले गर्नुभएको थियो भने व्यवस्थापनमा प्राज्ञ केदारनाथ खनाल र डिभिजन वन कार्यालय भरतपुरका प्रमुख विष्णुप्रसाद आचार्यको विशेष संयोजन रहेको थियो।
बागमती प्रदेशका १३ वटै जिल्लाका साहित्यकार, कलाकार, संस्कृतिकर्मी, अनुसन्धानकर्ता तथा सरोकारवालाहरूको बाक्लो उपस्थिति रहेको यस महोत्सवको पहिलो दिन जेठ १६ गते नेपाली साहित्यमा नारी लेखन, पर्यासाहित्यको आँगन, गीत-सङ्गीत, पठन संस्कृति, नेपाली नाटकको तस्विर र नाटक मञ्चन तथा ‘नदीसँग कविता’ जस्ता विशेष सत्रहरू सञ्चालन भए।
सोही दिन अपराह्न मञ्चन भएको ‘पतझड’ शीर्षकको नाटकले दर्शकको मन जित्न सफल भयो। महोत्सवको दोस्रो दिन जेठ १७ गते ‘नेपाली साहित्यमा सीमान्तकृतका आवाज मन्द कि बुलन्द ?, ‘बाल संसारस् आफ्नै दृष्टि आफ्नै सृष्टि’, ‘कला वार्ता (चित्र, मूर्ति, लोकवार्ता) : माटो, ढुङ्गा र क्यानभासको संवाद’, ‘कृत्रिम बौद्धिकता (AI) को युगमा कला र साहित्यको भविष्य’ तथा नवयुवा पुस्ताको भावना समेटिएको ‘शब्द सङ्घर्ष र ज्ञ (Z) पुस्ताको आवाज’ जस्ता सत्रहरू सञ्चालन गरिएका थिए।
महोत्सवको समापन ‘गजल सन्ध्या’ सँगै रोमान्चक बनेको थियो। सहभागीहरूले विशेष गरी ‘पतझड’ नाटक, बालसंसार र ‘ज्ञ पुस्ताको आवाज’ सत्रलाई विषयवस्तु र पात्र छनौटका हिसाबले सर्वोत्कृष्ट भन्दै उच्च प्रशंसा गरेका छन्।
महोत्सवको समापन सत्रमा आयोजकहरूको तर्फबाट प्रतिवेदन तथा घोषणापत्र उपसमितिले १३ बुँदे बागमती घोषणापत्र जारी गरेको छ। घोषणापत्रमार्फत भाषा, साहित्य, सङ्गीत र ललितकलाको संरक्षणका लागि यस्ता महोत्सवलाई सङ्घीय, प्रादेशिक र स्थानीय सरकारले हरेक वर्षको नीति तथा कार्यक्रममा अनिवार्य समावेश गर्नुपर्ने माग गरिएको छ।
साहित्यलाई कोरा कल्पना र यथार्थ वर्णनमा मात्र सीमित नराखी मूर्तिकला, चित्रकला, पर्यावरण, लैङ्गिकता र संस्कृतिसँग जोडेर नयाँ चेतनाका साथ अध्ययन-अनुसन्धान गर्ने, तथा हरेक साहित्यिक उत्सव र सिर्जनालाई बहुभाषिक, बहुसांस्कृतिक, समावेशी र विश्वचेतनालाई आत्मसात् गर्ने गरी स्थानीय पहिचानसँग जोड्ने बुँदा घोषणापत्रमा समेटिएका छन्।
रैथाने ज्ञान र सीपको सैद्धान्तिकीकरणका लागि सबै तहका योजनामा बजेटको व्यवस्थापन गर्ने, बागमती प्रदेशका आध्यात्मिक, प्राकृतिक र ऐतिहासिक सम्पदालाई मध्यनजर गर्दै साहित्यलाई पर्यटन, पर्यावरण र कृषिसँग अन्तरसम्बन्धित गर्ने, र ग्रामीण एवं सीमान्तकृत समुदायका अलिखित साहित्य र कथालाई बाहिर ल्याउने प्रतिबद्धता घोषणापत्रमा उल्लेख छ।
यसैगरी, देशका विभिन्न भूगोलमा आयोजना हुने साहित्यिक उत्सवहरू मौसमको अनुकूलतालाई ध्यानमा राखेर मात्र आयोजना गर्ने, नयाँ पुस्तालाई साहित्यमा आकर्षित गर्न र लेखन, गायन वा अभिनयका क्षेत्रमा देखिने विकृतिलाई नियमन गर्न स्थानीय तह र प्राज्ञिक संस्थाहरूले सहकार्य गर्ने कुरामा जोड दिइएको छ।
बालबालिका र युवाहरूमा पठन संस्कृतिको विकास गर्न विद्यालय, क्याम्पस र सार्वजनिक पुस्तकालयहरूमा साहित्यिक पुस्तक खरिदका लागि निश्चित बजेट छुट्याउनुपर्ने, कृत्रिम बौद्धिकता (AI) को युगबाट विमुख नहुने तर यसले मानवको कल्पनाशक्ति र सृजनात्मक क्षमतालाई निस्तेज पार्न नहुने तथ्यलाई आत्मसात् गर्दै प्रविधिलाई साहित्यमा रचनात्मक प्रयोग गर्ने बुँदा पनि घोषणापत्रमा समेटिएको छ।
कलाकृति, पुस्तक र साहित्यसँग सम्बन्धित कच्चा पदार्थको बिक्री(वितरणमा भन्सार तथा कानुनी झन्झटहरूलाई हटाउनुपर्ने, कविता, उपन्यास, नाटक लगायतका विधालाई व्यावसायिक उत्पादन, रोजगारी र अर्थतन्त्रसँग जोड्ने गरी परियोजनाहरू निर्माण गर्ने र रैथाने ज्ञान र मौलिक परम्परालाई विद्यालय तथा विश्वविद्यालयका पाठ्यक्रममा समावेश गर्न आवश्यक समन्वय गर्ने बुँदालाई घोषणापत्रले विशेष प्राथमिकता दिएको छ।
त्यसैगरी भाषा, साहित्य, कला र संस्कृति जति बलियो हुन्छ, समाज त्यति नै गतिशील हुन्छ र राष्ट्रियता बलियो हुन्छू भन्ने मान्यतालाई स्थापित गर्दै घोषित बुँदाहरू लागू गराउन सम्पूर्ण सरोकारवालाहरूले साझा प्रतिबद्धता व्यक्त गरेका छन्।
आयोजकले महोत्सव भव्य रूपमा सम्पन्न गर्न हल उपलब्ध गराउने चितवन उद्योग वाणिज्य सङ्घ, प्रत्यक्ष(परोक्ष सहयोग गर्ने हेल्थ डेस्क, आवास, भोजन व्यवस्थापन तथा सहयोगी सम्पूर्ण संघसंस्था र सञ्चारकर्मीहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्दै भरतपुरमा आर्ट ग्यालरी निर्माणको प्रतिबद्धता शीघ्र कार्यान्वयन गर्न जोडदार माग समेत गरेको छ।




















