२६ वैशाख,वीरगञ्ज । वीरगञ्ज–१० घडिअर्वाका मुकेश महतो विगत तीन दशकदेखि कलाकारिता क्षेत्रमा सक्रिय छन्। भोजपुरी लोककलालाई विश्वमाझ चिनाउने उद्देश्यका साथ उनले चित्रकला र मूर्तिकलामा निरन्तर साधना गर्दै आएका छन्।
वीरगन्जमै बसेर चित्र बनाउने र मूर्तिकलाका विविध आकृति सिर्जना गर्ने मुकेश पछिल्लो ६ वर्षयता विशेष रूपमा चित्रकला र मूर्तिकलामै केन्द्रित छन्। मोफसलमा बसेर पनि कलाकारितामार्फत सम्मानजनक जीवनयापन सम्भव रहेको उनी बताउँछन्। अर्डरअनुसार उनले दुई हजारदेखि ३५ हजार रुपैयाँसम्मका चित्र बिक्री गर्दै आएका छन्।
हाल मुकेश वीरगन्जका दुई विद्यालयमा आर्ट शिक्षकका रूपमा कार्यरत छन्। विद्यालयस्तरमै बालबालिकामा चित्रकलाप्रति रुचि जगाउने प्रयासमा सक्रिय उनी कला कार्यशाला, गोष्ठी तथा स्थानीय लोककलामाथि अनुसन्धानमा समेत संलग्न छन्। चाडपर्वको समयमा भित्तेचित्र, पार्क सजावट र अन्य व्यावसायिक कलाका कामले उनको दैनिकी अझ व्यस्त हुने गरेको छ।
उनले नेपालसहित विभिन्न पाँच देशमा आयोजित सामूहिक कला प्रदर्शनीमा सहभागिता जनाइसकेका छन्। भोजपुरी समुदायको लोककला संरक्षणमा योगदान पुर्याएको भन्दै नेपाल सरकार पर्यटन मन्त्रालय बाट ‘प्रादेशिक प्रतिभा पुरस्कार’ समेत प्राप्त गरेका छन्।
वीरगन्ज कलाकार समाज स्थापना गरेर स्थानीय युवालाई कलाकारिता र लोकसंस्कृतितर्फ आकर्षित गर्न उनले भूमिका खेलिरहेका छन्। साथै भोजपुरी प्रतिष्ठान को कार्यसमिति सदस्यका रूपमा लोककलाको दस्ताबेजीकरणमा पनि सक्रिय छन्।
मुकेशका चित्रहरूमा सामाजिक चेतनाको प्रभाव स्पष्ट देखिन्छ। दाइजो प्रथा, बालविवाह, चेलीबेटी बेचबिखन, बालश्रम तथा प्रदूषणजस्ता विषयलाई उनले आफ्ना चित्रमार्फत उठाउने गरेका छन्। केही वर्षअघि वीरगन्जमा आयोजित कला महोत्सवमा उनले बनाएको एक चित्र निकै चर्चित बनेको थियो। उक्त चित्रमा एउटी युवतीको खुट्टामा एकातर्फ मेहेन्दी र पायल तथा अर्कोतर्फ स्कुलको मोजासँगै बाँधिएको साङ्लोमार्फत दाइजो र बालविवाहको पीडालाई मार्मिक ढंगले प्रस्तुत गरिएको थियो।
‘कलाकार समाजको दर्पण हो। समाजको यथार्थ देखाउनु उसको धर्म हो,’ मुकेश भन्छन्। उनका अनुसार चित्रकला वर्तमान समाजलाई भावी पुस्तासम्म हस्तान्तरण गर्ने प्रभावकारी माध्यम हो।
चित्रकलामा ‘वाटर कलर’ र ‘एक्रेलिक कलर’ प्रयोग गर्ने मुकेश कुशल मूर्तिकारसमेत हुन्। बाल्यकालमा कलकत्ताका मूर्तिकार विनयपाल बाट आठ वर्षसम्म मूर्तिकला सिकेका उनले अहिले वीरगन्जका विभिन्न चोकमा स्थापित सरस्वती, गणेश, दुर्गा र विश्वकर्माका मूर्ति निर्माण गरेका छन्। मूर्ति निर्माणमार्फत केही युवालाई रोजगारीसमेत दिएका छन्।
एसएलसीपछि भारतबाट ललितकलाको अध्ययन गरेका मुकेश पूर्ण रूपमा कलाकारितामै समर्पित छन्। रहरबाट सुरु भएको यात्राले आज उनलाई नाम र सम्मान दुवै दिलाएको भन्दै उनी सन्तुष्ट देखिन्छन्।




















