१६ जेठ, (माडी) चितवन । विविध जातजाति, भाषाभाषी र सांस्कृतिक सम्पन्नताको अनुपम सङ्गम मानिएको चितवनको माडी उपत्यका मौलिक रङ्गहरूले पूर्ण रूपमा सजिएको थियो। माडी प्रज्ञा प्रतिष्ठानको आयोजना तथा माडी नगरपालिकाको प्रवर्द्धनमा सञ्चालन भएको “माडी मौलिक सांस्कृतिक उत्सव २०८३” बसन्तपुर बजारको खुला चौरमा हजारौँ नागरिकहरूको उत्साहजनक सहभागिताबीच भव्य रूपमा सम्पन्न भएको छ।
माडीको इतिहासमै एक महत्त्वपूर्ण सांस्कृतिक अभियानका रूपमा हेरिएको यस उत्सवले यहाँको मौलिक कला, संस्कृति, भाषा, भेषभूषा, परम्परा तथा सामाजिक सद्भावलाई एउटै मञ्चमा प्रस्तुत गर्दै माडीलाई जातीय सद्भाव र सांस्कृतिक एकताको सुन्दर केन्द्रका रूपमा राष्ट्रियस्तरमा चिनाएको छ।
उत्सवको औपचारिक सुरुवात हुनुअघि बसन्तपुर बजारमा विभिन्न जातजातिको मौलिक पहिचान झल्किने आकर्षक झाँकी तथा सांस्कृतिक र्याली निकालिएको थियो। परम्परागत बाजागाजा, जातीय पहिरन र मौलिक नृत्यसहित निकालिएको उक्त र्यालीले सिङ्गो बसन्तपुर बजार क्षेत्रलाई उत्सवमय बनाएको थियो। र्यालीमा सहभागी स्थानीय आमा समूह, युवा क्लब, विभिन्न संघसंस्था, शिक्षक, विद्यार्थी र नागरिक समाजको लस्करले उपस्थित दर्शकलाई विशेष आकर्षित गरेको थियो। बजार परिक्रमा गरेपछि र्याली बसन्तपुरस्थित खुला चौरमा पुगेर औपचारिक समारोह र सांस्कृतिक प्रस्तुतिहरूमा रूपान्तरण भएको थियो।
उत्सवको शुभारम्भ ब्राह्मण–क्षेत्री समुदायको परम्परागत स्वस्तिवाचन तथा भजन–कीर्तनबाट गरिएको थियो। लगत्तै माडीको माटोमा पुस्तौँदेखि भिज्दै आएका आदिवासी थारु समुदायका ८ थरी फरक(फरक मौलिक प्रस्तुतिहरू प्रदर्शन गरिएका थिए। यसैगरी मगर, तामाङ, नेवार, दुरा, गुरुङ, चेपाङ, राई र दराई लगायत १२ भन्दा बढी आदिवासी जनजातिका दुर्लभ एवं रैथाने सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिएका थिए।
दलित समुदायको पञ्चेबाजाको धून, स्थानीय कलाकारहरूको ओझपूर्ण लोकदोहोरी गायन तथा विद्यालयका विद्यार्थीहरूको आकर्षक सांस्कृतिक नृत्यले मध्यरातसम्म दर्शकहरूलाई बाँधिराखेको थियो। दिउँसोदेखि सुरु भई राति १० बजेसम्म निरन्तर सञ्चालन भएको यस उत्सवले बसन्तपुरलाई एक दिनका लागि माडीको सांस्कृतिक राजधानीकै रूपमा रूपान्तरण गरिदिएको अनुभूति सहभागीहरूले गरे।
सांस्कृतिक प्रस्तुति सँगसँगै उत्सव परिसरभित्र राखिएका १४ वटा व्यापारिक तथा प्रवर्द्धनात्मक स्टलहरू आगन्तुकहरूको विशेष रोजाइमा परेका थिए। ती स्टलहरूमा विभिन्न जातजातिका मौलिक तथा रैथाने परिकार, माडीका रैथाने माछा तथा दुग्धजन्य परिकार, स्थानीय होमस्टे (घरवास) प्रवर्द्धनका सामग्रीहरू प्रदर्शन गरिएका थिए।
स्थानीय आमा समूहहरूद्वारा तयार पारिएका घरेलु उत्पादन तथा हस्तकलाका वस्तुहरूको बिक्री–वितरणले उत्सवमा आर्थिक चहलपहल समेत बढाएको थियो। उत्सवभित्र सञ्चालित “मौलिक खाना पर्व” मुख्य आकर्षण बनेको थियो, जहाँ माडी घुम्न आएका बाह्य तथा आन्तरिक पर्यटकहरूले माडीको रैथाने र परम्परागत स्वादको प्रत्यक्ष अनुभव गर्ने अवसर पाएका थिए।
समारोहलाई सम्बोधन गर्दै माडी नगरपालिकाकी नगर प्रमुख (मेयर) ताराकुमारी काजी महतोले माडीभित्र रहेको अद्वितीय सांस्कृतिक विविधता नै यहाँको मुख्य पहिचान र सम्पत्ति भएको उल्लेख गर्नुभयो। उहाँले यस्ता अमूर्त सांस्कृतिक सम्पदाहरूको संरक्षण, प्रवर्द्धन र नयाँ पुस्तामा यसको सही पुस्तान्तरण गर्न नगरपालिका नीतिगत र व्यावहारिक रूपमै प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो।
त्यसैगरी, माडी प्रज्ञा प्रतिष्ठानका अध्यक्ष नारायण प्रसाद सापकोटाले माडीमा बसोबास गर्ने विभिन्न जातजाति, समुदाय र संस्कृतिलाई एउटै मञ्चमा जोड्दै आपसी सद्भाव, पहिचान र सांस्कृतिक गौरवलाई थप बलियो बनाउने लक्ष्यसहित उत्सवको जग बसालिएको बताउनुभयो। अध्यक्ष सापकोटाले भन्नुभयो, “यो उत्सव केवल रमाइलो मात्र होइन, यसले नयाँ पुस्तालाई आफ्नो मौलिक पहिचान, संस्कृति र परम्परासँग जोड्नुका साथै समाजमा सामाजिक एकता, सहिष्णुता र आपसी सम्मानको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।”
उहाँले माडीको सांस्कृतिक सम्पदालाई राष्ट्रियस्तरसम्म चिनाउन, यहाँको दिगो पर्यटन प्रवर्द्धन गर्न, रैथाने उत्पादनको बजारीकरणमा सघाउन र संकटमा पर्दै गएका होमस्टे व्यवसायलाई थप सशक्त बनाउन यो उत्सव कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो।
उत्सवमा प्रदेश सांसद ठाकुर प्रसाद ढकाल, चितवनका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्याल, विभिन्न सुरक्षा निकायका जिल्ला तथा स्थानीय प्रमुखहरू, माडीका प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भुसाल, प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरू, स्थानीय बुद्धिजीवी तथा पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
स्थानीय बुद्धिजीवी तथा सहभागीहरूले माडीको इतिहासमा यति बृहत् स्तरमा विविध समुदायलाई एकै स्थानमा जोडेर आयोजना गरिएको यो नै पहिलो र ऐतिहासिक कार्यक्रम भएको प्रतिक्रिया दिएका छन्। “समृद्ध समाजको आधार — मौलिक संस्कृति र सामाजिक एकता” भन्ने मूल नारालाई व्यवहारमै उतारेको यो उत्सवले माडीको स्थानीय अर्थतन्त्र र सामाजिक सद्भावलाई नयाँ उचाइ दिएको भन्दै सहभागीहरूले आगामी वर्षहरूमा पनि यसलाई अझ बृहत्तर रूपमा निरन्तरता दिनुपर्ने अपेक्षा व्यक्त गरेका छन्।




















