३ वैशाख, (माडी) चितवन । चितवनको माडीस्थित बसन्तपुरमा आजदेखि ‘तेश्रो माडी सांस्कृतिक तथा पर्यटन उत्सव–२०८३’ सुरु हुँदैछ। तर, उत्सव सुरु हुनुअघि नै यसले माडीमा गम्भीर विवाद र मतभेद सिर्जना गरेको छ।
स्थानीय सरकारले सुशासन र पारदर्शिताको नमुना पेश गर्नुपर्नेमा माडी नगरपालिकाका मेयर ताराकाजी महतो भने ठीक विपरीत बाटोमा हिँडेको पाइएको छ।
नगरपालिकाले मेला–महोत्सवका नाममा हुने विकृति नियन्त्रण गर्नुपर्नेमा उल्टै विवादास्पद आयोजनाको मुख्य साझेदार बनेपछि मेयर ताराकाजी महतोको आलोचना चुलिएको छ। माडीका उद्योगी व्यवसायीहरूले बहिस्कार गरेको कार्यक्रममा मेयर आफैँ प्रमुख अतिथि बनेर उद्घाटन गर्न लाग्नुले उनको नियत र कार्यशैलीमाथि प्रश्न उठेको छ।
माडीको बसन्तपुरमा आजदेखि सुरु हुन लागेको ‘तेश्रो माडी सांस्कृतिक तथा पर्यटन उत्सव–२०८३’ को सन्दर्भमा मेयर महतोले देखाएको अस्वाभाविक सक्रियता र आर्थिक अपारदर्शितालाई दिएको आड ले माडीको सुशासनमा गम्भीर प्रश्न खडा गरिदिएको छ।
महोत्सव आयोजक ‘माडी कला केन्द्र’ ले आर्थिक पारदर्शिताको न्यूनतम मापदण्ड समेत पालना नगरेको पाइएको छ। संस्थाले मान्यता प्राप्त लेखापरीक्षक ९अडिटर० मार्फत अडिट गरिएको प्रतिवेदन सार्वजनिक गर्नुपर्नेमा गत चैत २ गते संस्थाको लेटरप्याडमा एउटा सामान्य सूचना टाँसेर ‘आय–व्यय’ सार्वजनिक गरेको छ।
गएको वर्ष वीरगञ्जको ठेकदार कम्पनी ‘द लिड इन्टरटेनमेन्ट’ सँग ७ लाख रुपैयाँमा महोत्सवको ठेक्का सम्झौता गरिएको थियो। तर, संस्थाले सार्वजनिक गरेको हिसाबमा ५ लाख रुपैयाँ मात्र देखाइएको छ। बाँकी २ लाख रुपैयाँको कुनै हिसाब देखाइएको छैन।
गएको वर्ष ७ लाख रुपैयाँमा ठेक्का दिएको उक्त केन्द्रले यस वर्ष ६ लाख रुपैयाँमा सोही कम्पनीलाई महोत्सव बिक्री गरेको हाे । ठेकदार कम्पनीका सञ्चालक विमल खड्गीले गत वर्ष घाटा भएकाले यस वर्ष ६ लाखमा ठेक्का लिएको स्वीकार गरेका छन। कला केन्द्रका अध्यक्ष हरिकृष्ण लामिछानेले आफूहरूसँग व्यवस्थापकीय ज्ञान नभएकाले निजी कम्पनीलाई जिम्मेवारी दिएको बचाउ गरेका छन ।
अडिट विनाको लेटरप्याड विवरणमा ५ लाखको हिसाब देखाएर बाँकी रकम गुपचुप पारिएको विषयमा माडी नगरपालिकाले छानबिन गर्नुपर्नेमा उल्टै मेयर महतोले सोही संस्थालाई जोगाउँदै यस वर्ष पनि महोत्सवको मुख्य साझेदार बनाएपछि उनको नियतमाथि प्रश्न उठेको हो।
माडी उद्योग वाणिज्य संघ, होटल तथा पर्यटन व्यवसायीहरुले आधिकारिक रूपमा महोत्सव बहिस्कार गरेका छन्। माडी उद्योग संघका अध्यक्ष जिताराम महतोले मेयर ताराकाजीले अन्तिम समयमा आएर ‘निःशुल्क स्टल’ को प्रलोभन देखाउँदै सहभागी हुन दबाब दिएको बताए ।
आर्थिक रूपमा अपारदर्शी र स्थानीय व्यवसायीसँग समन्वय नगर्ने संस्थाको कार्यक्रममा सहभागी हुन नसकिने अडान लिएका उद्योग संघका अध्यक्ष महतोलाई कोशेली घरको लागि महत्वपूर्ण स्थानमा स्टल राख्न दिने आश्वासन मेयर महतोले दिएको उनले बताए । कोलेशी घर माडी उद्योग संघ र माडी नगरपालिकाले प्रवद्र्धन गरेको संस्था हो ।
नगरपालिकाले आफैँ गठन गरेको माडी प्रज्ञा प्रतिष्ठानले समेत मेयरको कदमप्रति विद्रोह गरेको छ। स्थानीय भाषा, कला र मौलिकताको संरक्षण गर्नुको साटो आयातित संस्कृति र व्यावसायिक नाफालाई प्रश्रय दिइएको भन्दै प्रतिष्ठानले उत्सव बहिस्कार गरेको छ।
माडीका धार्मिक एवं पर्यटकीय क्षेत्रलाई उपेक्षा गरेर वीरगञ्जको निजी कम्पनीलाई ६ लाखमा उत्सव ‘बिक्री’ गरिएकोमा प्रतिष्ठानको कडा आपत्ति छ। रैथाने संस्कृति माथिको बाह्य प्रहारलाई समर्थन गर्ने अवस्था देखिएन, माडी प्रज्ञा प्रतिष्ठानका एक पदाधिकारीले रेसखवरलाई भने ।
ठेक्का प्रथा र मेयरको संरक्षकत्व
माडी कला केन्द्र एउटा सीमित पारिवारिक समूहको एनजीओ हो, जसले व्यवस्थापकीय ज्ञान नभएको बहानामा वीरगञ्जको कम्पनीलाई यस वर्ष पनि ६ लाखमा ठेक्का सुम्पिएको छ। गएको वर्ष नगरपालिकालाई कुनै कर नबुझाएको र आर्थिक अनियमितताको आरोप खेपिरहेकै संस्थालाई मेयर महतोले काँध हाल्नु ले माडीमा सुशासनको खिल्ली उडाएको छ।
माडी कला केन्द्रले आयोजना गरेको महोत्सवमा माडी नगरपालिका मुख्य साझेदार बनेर विवादास्पद महोत्सवको आज उद्घाटन गर्न लाग्नुभएका मेयर ताराकाजी महतोको कार्यशैलीले माडीका सचेत नागरिक र उद्योगीहरूलाइ निरास बनाएको छ ।
सुशासनको नारा दिने मेयर आफैँ अपारदर्शी हिसाबलाई संरक्षण गर्न उद्धत हुनुले गाउँ–गाउँमा सिंहदरबारु को अवधारणालाई नै गिज्याइरहेको छ। माडी महोत्सव र यसको पारदर्शीताको बिषयमा बहश भइरहदा माडीका राजनीतिक दल भित्र सन्नाटा छाएको छ । पुराना भनिएका दल माथि सुशासनको बिषयमा प्रश्न उठाउदै आएको नयाँ भनिएको रास्वपा पनि माडी महोत्सवको विवादको बारेमा मौन छ ।
स्थानीयवासीले भने जस्तो आयोजक संस्थाले प्रहरी प्रशासन मात्र होइन नयाँ पुराना राजनीतिक दललाई समेत आफ्नै मतिमा गति मिलाएको भान हुन थालेको छ । नयाँ भनिएको रास्वपाले माडीका अन्य बिषयमा सुशासनको बिषय उठाउने नैतिक धरातल राख्छ की राख्दैन महोत्सव सकिएपछि नै भन्न सकिएला, एक स्थानीयले भने ।




















