Logo

पर्सा निर्वाचन क्षेत्र नं. ३ का एमाले उमेदवार राजकुमार गुप्ताले प्रचारको लागि प्रयोग गरेको डिजेबाज सहितको गाडी

५ कात्तिक, वीरगञ्ज ।
रौतहटको निर्वाचन क्षेत्रमा कार्यकर्ता भेलामा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल र बारा निर्वाचन क्षेत्र नंं. ४ का उमेदवार किसन श्रेष्ठले बोलेको बिषयलाई लिएर निर्वाचन आयोगले स्पष्टीकरण सोध्ने र माधव नेपाललाई कार्वाही गर्न प्रहरीलाई पत्राचार गरेको छ । तर पर्सा जिल्लामा भने एमाले, जसपा गठबन्धनका उमेदवारले आचार संहिता उल्लंघन गर्दा आयोगको ध्यान समेत जान सकेको छैन ।

पर्सा निर्वाचन क्षेत्र नंं १, ३ र ४ का प्रतिनिधि सभा र प्रदेश सभाका एमाले जसपाका उमेदवारले डिजेबाजा, तोकिएको मापदण्ड भन्दा ठूला साइज र संख्यामा ब्यानर, झण्डा प्रयोग गरि गाउँघरमा प्रचार गरिएको समाचार तश्विर र भिडियो सहित विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा सार्वजनिक हुदाँ समेत आयोगले कार्वाहीको लागि कुनै चासो देखाएको छैन । निर्वाचन आचार संहित उल्लंघन गर्ने राजनीतिक दल र उमेदवारको बिषयमा पर्सा स्थित आयोगका अधिकारीहरु कुनै उजुरी नपरेको भनी मूकदर्शक भएर बसेका छन् ।

आयोगले जुनसुकै माध्यमबाट सुचना प्राप्त गरेको आधारमा उमेदवारले निर्वाचन आचार संहिता उल्लंघन गरेमा स्पष्टीकरण लिने र सचेत गराउन सक्ने आचार संहितामा व्यवस्था भएपनि आयोगले केही राजनीतिक दलका उमेदवारलाई मात्र लक्षित गरि स्पष्टीकरण लिने गरेको बिषयले आयोगको भूमिका प्रति शंसय पैदा गरेको छ । आयोगको पूर्वाग्रही निर्णयले कसैलाई ऐन र कसैलाई चैनको अवस्था देखिएको स्वतन्त्र विश्लेषकहरुको भनाई छ ।

पर्सा जिल्लामा आयोगले स्वतन्त्ररुपमा उठेका केही उमेदवारलाई भने चुनाव चिन्ह भएका ब्यानर सार्वजनिक ठाउँमा प्रयोग नगर्न निर्देशन दिएको छ । जिल्ला अनुगमन समितिका संयोजक रुद्र कार्कीले केही स्वतन्त्र उमेदवारको ब्यानर वीरगंजका विभिन्न स्थानबाट हटाउन लगाइएको वताए । वीरगञ्ज क्षेत्रमा मुख्य राजनीतिक दलका उमेदवारले सार्वजनिक स्थल र व्यक्तिको घरमा लगाएको तुल ब्यानर भने हटाएको छैन ।

निर्वाचन आयोगले दिएको निर्देशनलाई पर्साका अधिकांश राजनीतिकदल र उमेदवारहरुले पालना गरेका छैनन् । आयोगले जारी गरेको व्यानर, झण्डा र पर्चा सम्वन्धी आचार संहितालाई केही दलका उमेदवारले उल्लंघन गरेको देखिएता पनि यस बारेमा पर्सा जिल्ला स्थित आयोगको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय र अनुगमन अधिकृतबाट कार्वाही वा स्पष्टीकरण सोध्ने काम समेत भएको छैन ।

निर्वाचन आचार संहितामा मतदान हुनु भन्दा १७ दिन अघिबाट मात्र प्रचारप्रसार तथा आमसभा र घरदैलो कार्यक्रम गर्नुपर्ने भनिएको छ । विभिन्न दलका उमेदवारहरुले गाउँसभा, वडा भेला र घरदैलो कार्यक्रम निरन्तर गरिरहेका समाचार आमसञ्चार माध्यम तथा सामाजिक सञ्जालहरुमा आइरहेता पनि आयोगको त्यस तर्फ ध्यान पुग्न नसक्नु आयोगको कमजोरी रहेको सामाजिक अगुवाहरुको भनाई रहेको छ ।

पर्सा निर्वाचन क्षेत्र नं. १ का जसपा एमाले गठबन्धनका उमेदवार प्रदीप यादवको घरदैलो कार्यक्रममा प्रयोग गरिएको झण्डा र व्यानर

पर्सामा राजनीतिक दल र उम्मेदवारले आचार संहिता उल्लंघन गरि सार्वजनिक स्थानमा प्रयोगका गरेका चुनावी प्रचारका सामाग्रीहरु प्रहरीले हटाउन थालेको छ । निर्वाचन आचार संहिता उल्लंघन गर्दै उम्मेदवारहरुले टाँगेका तुल ब्यानर लगायत प्रचार प्रसारका सामाग्रीहरु शुक्रवार देखि प्रहरी लगाएर आयोगले हटाइएको निर्वाचन अनुगमन समितिका संयोजक रुद्र कार्कीले बताए ।

चुनावी प्रचारप्रसार गरिरहेको भएपनि निर्वाचन आयोग मौन बसेको भन्दै रेसखवर डटकम र नारायणी एफएममा समाचार प्रकाशन÷प्रशारण भएको थियो । निर्वाचन अचार संहिता अनुगमन अधिकृत रुद्र बहादुर कार्कीको नेतृत्वमा सुरक्षाकर्मी सहित खटिएको टोलीले पर्सा निर्वाचन क्षेत्र नंं. ३ अन्तरगत पर्ने पोखरीया नगरपालिका, विन्दवासीनी र पकाहामैनपुर गाँउपालिकाका विभिन्न स्थानमा पुगेर आचार संहिता विपरित प्रयोग गरिएका चुनावी प्रचारका सामाग्री हटाएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी सहित खटिएको टोलीले पोखरिया नगरपालिकाको पोखरिया बजार, बिन्दवासनी गाउपालिकाको अमरपट्टी, प्रसौनिभाठा तथा पकहामैनपुर गाउपालिकाको पकाहा स्थित सडकका पोल, सरकारी कार्यालय लगायतका सार्वजनिकस्थलमा दल र उम्मेदवारहरुले राखेका झण्डा , ब्यानर, साइन बोर्ड, पोष्टर र पम्प्लेटहरु हटाएको थियो । निर्वाचन आचार संहिता उल्लंघन गरि सार्वजनिक स्थलमा प्रयोग गरिएका चुनावी प्रचारका सामाग्रीहरु शुक्रवार देखि प्रहरी लगाएर हटाउन थालिएको पर्साका मुख्य निर्वाचन अधिकृत विनोद पोखरेलले जानकारी दिए । उम्मेदवारहरुले अटेर गरि पूनः त्यस्ता गतिविधी गरेको पाइए निर्वाचन ऐन अनुसार कारबाहीको दायरमा ल्याइने उनले बताए ।

निर्वाचन आयोगले चुनावी प्रचारमा प्रचार सामग्रीको सीमाबारे राजनीतिक दल, उम्मेदवार, भातृ संगठन, तथा सम्बन्धित व्यक्तिको ध्यानाकर्षण गरेको छ ।
आयोगले चुनावी प्रचार सामग्रीहरुको सीमा सार्वजनिक गर्दै भनेको छ, ‘जुलुस, आमसभा, कोणसभा वा घरदैलो कार्यक्रममा ३/४ फिटको दश–दश वटासम्म झण्डा र चुनाव चिह्न प्रयोग गर्न पाइने छ ।’

उम्मेदवार वा दलको कार्यालयमा साइनबोर्ड तथा कपडामा बनाइएको ३/४ फिटको दलको झण्डा र सोही नापको चुनाव चिह्न राख्न बाहेक अन्य प्रचारप्रसारका सामग्री राख्न नपाइने पनि आयोगले स्पष्ट पारेको छ ।

चुनाव प्रचार प्रसार गर्दा ७५ ग्रामसम्मको कागजमा ३०० वर्ग इञ्चसम्म क्षेत्रफल भएको एउटै आकारको रङ र मुद्रकको नामसहितको पर्चा मात्र प्रयोग गर्नुपर्ने पनि आयोगको बताएको छ ।


सम्बन्धित समाचार