Logo

२९ कार्तिक, वीरगञ्ज । पर्सामा मतदाता शिक्षा प्रभावकारी रुपमा सञ्चालन हुन नसकेको सरोकारवालाले बताएका छन् । मंसिर ४ गतेको चुनाव नजिकिदै गर्दा मत कसरी खसाल्ने ? भनेर मतदातालाई जानकारी नै नगराईएको उनीहरुको भनाई छ । राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय आदिवासी जनजाति आयोग र राष्ट्रिय समावेशी आयोगका अध्यक्ष तथा प्रतिनीधिहरुसँगको छलफल कार्यक्रममा सहभागीले यस्तो बताएका हुन् ।

उनीहरुले विद्यालयको पाठ्यपुस्तकमै मतदाता शिक्षालाई समावेश गर्नुपर्ने, मतदाता शिक्षा सिमान्तकृत समुदायसम्म पुग्नुपर्ने, विद्यालयमा मतगणना स्थल राख्न नहुने, प्रतिनीधि सभा तथा प्रदेश सभा सदस्य पदमा महिला अनिवार्य उठाउनुपर्ने प्रावधान राखिनुपर्ने, नमुना मतदानमा मतदाताको बढी भन्दा बढी सहभागिता हुनुपर्ने, निर्वाचन कार्यालयहरुलाई पाँच वर्ष नै क्रियाशिल राख्नुपर्नेमा जोड दिएका छन् ।

मानव अधिकार संगठन पर्साका सचिव शिवनाथ यादवले मतदान आउन पाँच दिन बाँकी रहँदा अधिकांश मतदाताले कसरी भोट खसाल्ने भन्ने बारेमा जानकारी नै नपाएको बताउनुभयो । सामाजिक अभियन्ता प्रकाश थारुले उम्मेदवार विकट ठाउँमा मत माग्न नै नजाने गरेको गुनासो गर्नुभयो । दिव्य युवा क्लबका निर्देशक रामाकान्त पटेलले चुनावको अघिल्लो दिन मतदातालाई प्रभावित गर्न रक्सी र मासु खुवाउने चलनको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।

दलित महिला संघ पर्साकी अध्यक्ष निला रामले कम उमेरमा विवाह गर्ने महिला र अंगिकृत नागरिकका सन्तानको नागरिकता नबन्दा मताधिकारबाट वञ्चित हुनुपरेको बताउनुभयो । मानव अधिकार आयोगको सदस्य लिलि थापाले निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउनुपर्ने बताउनुभयो । उहाँले मानव अधिकार आयोगले सामुदायिक केन्द्र स्थापना गरेर मतगणना स्थलको रुपमा प्रयोगमा ल्याउनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय समावेशी आयोगको सदस्य विष्णु ओझाले निर्वाचनमा अवान्छित क्रियाकलाप नहोस भनेर सबै पक्ष सचेत रहनुपर्ने बताउनुभयो । राष्ट्रिय जनजाति आयोगका अध्यक्ष राम बहादुर थापा मगरले निर्वाचनमा कसैको अधिकार हनन हुन्छ भने आफ्नो पहुँच भएको आयोगमा खबर गरेर सहयोग गरिदिन आग्रह गर्नुभयो । तीन वटै आयोगको टोलीले आजै सुरक्षा निकाय र निर्वाचन अधिकृतसँग छलफल गरेको राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालय प्रमुख मञ्जु खतिवडाले जानकारी दिनुभयो । निर्वाचन पूर्व, निर्वाचनको दिन र निर्वाचन पछि पनि मानव अधिकारको उलंघन नहोस भनेर सुक्ष्म अनुगमन गर्ने उद्देश्यले विभिन्न आयोगको टोली निस्किएको छ ।

यता निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन सम्बन्धी मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको जनाएको छ । आयोगका आयुक्त डा. जानकी कुमारी तुलाधरले वडास्तरमा सञ्चालन भइरहेको मतदाता शिक्षा (घरदैलो र समुदायस्तर) कार्यक्रमका लागि जिल्ला स्थित आचार संहिता अनुगमन अधिकृतलाई जिम्मेवारी तोकिएको बताएकी छन ।


सम्बन्धित समाचार