Logo

७ मंसिर, वीरगञ्ज । पर्सा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका नेता अजयकुमार चौरसिया निर्वाचित भएका छन् ।

उनले जनता समाजवादी पार्टी (जसपा) का सुरेन्द्रप्रसाद कुर्मीलाई ६ हजार ६ सय मतान्तरले पराजित गरेका हुन् ।

चौरसियाले २८ हजार ४५१ मत ल्याउँदा जसपाका कुर्मीले २२ हजार ४४५ मत पाए । ८६ हजार ९ सय ६६ मतदाता रहेको यस क्षेत्रमा ५९ हजार १ सय ८८ मत खसेको थियो ।

यस क्षेत्रबाट ०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट विमल श्रीवास्तव निर्वाचित भएका थिए ।

चौरसिया श्रीवास्तवसँग पराजित भएका थिए । श्रीवास्तवले २१ हजार १६९ मत पाउँदा अजय चौरसियाले १९ हजार ७०४ मत पाएका थिए ।

पछिल्लो समय लोसपामा रहेका श्रीवास्तवले राजनीतिबाट सन्यास लिने घोषणा गरिसकेका छन् ।

पर्सा क्षेत्र नं २ मा वीरगञ्ज महानगरपालिकाका वडा नम्बर १, ३, ६, ९, १०, १७, १९, २४, २५, २६, २७, २८, २९ गरी १३ वटा वडा, बहुदरमाई नगरपालिकाका वडा नं. २, ३, ४, ६ गरी ४ वटा वडा र पर्सागढी नगरपालिकाका ९ वटै वडा पर्छन् ।

को हुन अजय चौरसिया ?

पर्साको विन्दवासिनी गाउँपालिका–४ अमरपट्टीमा १५ माघ २०२१ मा जन्मिएका हुन् । हाल उनी वीरगञ्ज ११ मा बस्छन् । भारतबाट स्नातक तह उतिर्ण गरेका उनी नेपाल फर्किएपछि राजनीतिमा सक्रिय छन् । २०४८ सालताका नेपाल सदभावना पार्टीमा रहेका नेता चौरसिया ०५१ सालमा नेपाली कांग्रेसमा आवद्ध भए ।

२०५२ सालमा कांग्रेसको ९ औं महाधिवेशनबाट महासमिति सदस्य, जिल्ला कार्यसमिति सदस्य बने । २०६६ मा भएको १२ औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित उनी १३ औं र १४ औं महाधिवेशनबाट पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

उनको संसदीय यात्रा चाहिँ २०५६ सालबाट शुरु भएको हो । ०५६ मा उनी पर्सा क्षेत्र नं २ बाट सांसद निर्वाचित भएका थिए । २०५८ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा उनी स्थानीय विकास मन्त्रालयको सहायक मन्त्री बने ।
२०६४ सालमा भएको पहिलो संविधान सभा निर्वाचनमा पर्सा क्षेत्र नं. ३ बाट चुनाव जिते । ०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा पराजित हुन पुगे ।

२०७४ को संसदीय निर्वाचनमा पनि उनको पक्षमा नतिजा आएन । विभिन्न राजनीतिक आन्दोलनमा सक्रिय सहभागिता जनाउँदै आएका नेता चौरसिया ०६२/०६३ को आन्दोलनमा ४ महिना जति जेल परेका थिए ।


सम्बन्धित समाचार