Logo

फाइल तस्बिर

३१ जेठ,वीरगञ्ज । बढ्दो गर्मीसँगै लामो समय खडेरी परि पानी नपर्नाले बारा पर्सामा पानीको हाहाकार मच्चिएको छ । अत्याधि गर्मीका कारण अहिले पर्साका बाराका अधिकांश पानीका मुहानहरु सुकेका छन् । भने चापाकलमा पनि पानी नआउदाँ पानीको हाहाकार मच्चिएको हो ।

स्थानियबासिन्दाले घरमै निर्माण गरेका चापाकलबाट समेत पानी आउन छाडेपछि अहिले छिमेकबाट पानी ल्याएर गुजारा गर्न बाध्य भएका छन् ।
प्राकृतिक वातारवरणमा पु¥याईएको असर, चुरे दोहन, वनजंगल विनाश जस्ता कारणले अहिले ग्रामिण तथा शहरी भेगमा पानीको मुहान सुक्दै जादाँ चापाकलबाट पानी आउन छोडेको छ । यसरी दैनिक जीवनका लागि अपरिहार्य चिज पानी रहेको र अहिले पानीकै हाहाकार मच्चिदाँ कहाँबाट पानी ल्याएर गुजारा टार्ने भन्ने विषयले स्थानिय चिन्तित बनेका छन् ।

पानीको अभाव भएसँगै अहिले पानीको स्रोत के होला भन्नेबारे सबैको चासोको विषय बनेको छ । तर बारा पर्सामा करोँडौ रकम खर्चिएर निमांण गरिएका खानेपानीका ट्याङकी भने अलपत्र परेका छन् । उक्त जिल्लाका विभिन्न स्थानिय तहमा पिउनकै लागि करोडौँ रकम खर्चेर बनाईएका खानेपानी ट्याङकी अहिले अलपत्र बनेका हुन् ।

सोमध्ये थुप्रै खानेपानी ट्यांकी निर्माण सम्पन्न भइसकेका छन् । यसरी निर्माण सम्पन्न भएका खानेपानी ट्यांकी ०६४ सालतिरबाट निर्माण गर्न शुरु गरिएको थियो । निर्माण सम्पन्न गरेर छाडिएका ती खानेपानी ट्यांकी सञ्चालन गर्न सकिए त्यसबाट हजाराँै घरधुरीमा सहजै खानेपानी वितरण गर्न सकिन्छ । तर, स्थानीय उपभोक्ताको बेवास्ता तथा पालिकाले पनि ती खानेपानी ट्यांकी सञ्चालन गर्न ध्यान भने नदिएका हुन् ।
लामो समयका खडेरी परि अहिले जिल्लामा पानीको हाहाकार भएको बेला उक्त ट्याङकीहरु सञ्चालनमा ल्याउन सकिए सजिलै पानीको समस्या समाधान हुने बारा पर्सा कार्यक्षेत्र भएका खानेपानी तथा सरसफाए डिभिजन कार्यालय बाराका प्रमुख किशोरीप्रसाद यादवले जानकारी दिनुभयो ।

पर्साको वीरगञ्ज महानगरपालिका, पोखरिया नगरपालिका, बिन्दबासिनी गाउँपालिका, ठोरी गाउँपालिका लगायत स्थानमा आधा दर्जनभन्दा बढी खानेपानीका ट्यांकी त्यस्तै बाराको जितपुरसिमरा उपमहानगरपालिका, महागढीमाई नगरपालिका, फेटा गाउँपालिकामा निर्माण सम्पन्न भएर सञ्चालनको पर्खाइमा रहेको यादवको भनाइ छ ।

ट्यांकी सञ्चालन गर्नका लागि खासै बढी रकम नचाहिने भएपनि स्थानीय उपभोक्ताले नै चासो नदिएको तथा स्थानीय तह पनि उदासिन देखिएका कारण खानेपानीका योजना सञ्चालन गर्नमा कठिनाइ भएको उहाँले बताउनुभयो । स्थानीयवासी नै चापकलको पानी सधैँ प्रयोग गर्ने र खानेपानी ट्यांकीको पानी प्रयोग नगर्ने बानी भएकाले पनि यस्ता खानेपानी ट्यांकी सञ्चालन हुन नसकेको यादवको तर्क छ ।

वीरगञ्ज महानगरपालिका–३० लालपर्सा टोलमा लामो समयदेखि खानेपानीको ट्यांकी र भवनसमेत निर्माण गरी बिजुलीको व्यवस्था पनि भइसक्दासमेत त्यसलाई सञ्चालनमा कसैले चासो भने दिएका छैनन् ।
अहिलेको अवस्थामा खानेपानीका लागि ट्यांकी सञ्चालन गर्न आफूले पाइप बिछ्याउनेसमेत कार्य गरिसकेको तथा चाँडै ट्यांकी सञ्चालनमा ल्याउने प्रयास गरिरहेको वडा नम्बर ३० का वडाध्यक्ष मनोज यादवले बताउनुभयो ।उहाँले बजेटको पनि कमी भएकाले वडाले आफैँ सञ्चालन गर्न सक्ने अवस्था नभएको जानकारी दिनुभयो ।

 


सम्बन्धित समाचार