२२ असार,वीरगञ्ज । रौतहटको मौलापुरमा आमा छोरी मृत अवस्थामा फेला परेको प्रकरणमा मृतकका श्रीमान पक्राउ परेका छन् । मौलापुर नगरपालिका–४ पतौरा निवासी २४ वर्षीया कबिता साहका श्रीमान् २८ वर्षीय धिरेन्द्र साह पक्राउ परेका हुन् ।
नेपाल भारत सिमानाका बँकुलबाट धिरेन्द्र गत बुधबार पक्राउ परेका रौतहटका प्रहरी उपरिक्षक विरबहादुर बुढामगरले जानकारी दिनुभयो । गत असार १६ गते मौलापुर नगरपालिका–४ पतौरा गाउँकी २४ धिरेन्द्रकी श्रीमती वर्षीया कविता देवी र उनकी दुई वर्षीया छोरी आरुहीको घरमै मृतावस्थामा शव फेला परेको थियो । आरुहीको शव पङ्खामा झुन्डिएको तथा कविताको शव घरबाट बाहिरिने सिँढीमुनि फेला परेको घरमै फेला परेको थियो ।
घटना विषयमा अनुसन्धानका लागि प्रहरीले कबिताकी जेठानी र सासुलाई सोही दिन नै पक्राउ गरिसकेको थियो । घटना लगत्तै धिरेन्द्र भने फरार भएका थिए । फरार रहदै आएका उनलाई अनुसन्धानको लागि पक्राउ गरिएको तथा कबिताको ससुरा पनि फरार रहेकाले उनको खोजी कार्य भईरहेको प्रहरी उपरिक्षक मगरले बताउनुभयो ।
उहाँका अनुसार मृतक आमा छोरीको पोष्टमार्टम रिपोर्ट आउँन बाँकी छ ।
मृतक कबिताका बुबा बिजयशंकर साहले धिरेन्द्रले पटकपटक थप दाईजोका लागि सासु र ज्वाँइले पहिलेदेखि नै छोरीलाई यातना दिदैँ आएको आरोप लगाएका छन् । उनले थप दाइजो नदिएकै कारण छोरी र नातीनीको हत्या गरेको आरोप लगाएका छन् ।
यता घटना विषयमा सत्यतथ्य छानबिनको माग गर्दै मौलापुर नगरपालिकाकी मेयर रिना साहले माग गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै कबिता साह र उनकी २ वर्षीय छोरीको मृत्युको खबरले स्तब्ध बनाएको भन्दै मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अपर्ण गर्नुभएको छ । मेयर साहले घटनाको निष्पक्ष छानबिन गरि सत्य तथ्य पत्ता लगाउन नेपाल सरकार गृह प्रशासनको गम्भीर ध्यानाकर्षण गराउनु भएको छ ।
घटना विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।

















