Logo

२३ जेठ,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीभित्र योगदानको हिसाब–किताब खोज्ने र पदोन्नतिको अपेक्षा राख्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर नहुने बताएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले पार्टी स्थापना भएको चार वर्षमै यस्ता प्रवृत्तिले जरा गाड्न खोज्नु चिन्ताजनक भएको उल्लेख गरेका छन्। उनले समयमै यस्ता अभ्यास सच्याउनुपर्ने आवश्यकता रहेको पनि बताएका छन्।

सभापति लामिछानेका अनुसार पार्टी केन्द्रीय महाधिवेशनको तयारीका क्रममा विशेषगरी मधेशसहित केही जिल्लामा नेतृत्वका लागि प्रतिस्पर्धा र आन्तरिक विवाद देखिनु लोकतान्त्रिक प्रक्रियाबाट व्यवस्थापन गर्नुपर्ने विषय हो।

उनले पार्टी आजको अवस्थामा पुग्नु कुनै एक व्यक्तिको मात्र योगदान नभई मतदाताको विश्वास र सबै सदस्यहरूको समर्पणको परिणाम भएको बताएका छन्। उनले नेता–कार्यकर्तालाई ‘म’ बाट ‘हामी’ तर्फ रूपान्तरण हुन आग्रह गर्दै पार्टीलाई अझ फराकिलो, समावेशी र सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्।

लामिछानेले रास्वपालाई आगामी दिनमा देशको नेतृत्व गर्न सक्षम राजनीतिक शक्तिका रूपमा विकास गर्ने लक्ष्य रहेको पनि स्पष्ट पारेका छन्।


सम्बन्धित समाचार