Logo

२३ जेठ,काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले जलवायु परिवर्तन र पर्यटन विकासका मुद्दालाई सरकारले सँगसँगै सम्बोधन गर्दै आएको बताएका छन्।

विश्व वातावरण दिवसको अवसरमा ‘समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास’ भन्ने नारासहित आयोजित कार्यक्रममा बोल्दै सचिव निरौलाले जलवायु परिवर्तन केवल वातावरणीय विषय मात्र नभई पर्यटन, सम्पदा र समग्र अर्थतन्त्रसँग पनि जोडिएको विषय भएको उल्लेख गरे।

उनले जलवायु परिवर्तनले पर्यटन क्षेत्रमा प्रत्यक्ष असर पारिरहेको भन्दै सरकार त्यसको समाधानका लागि पर्यटन र वातावरणलाई एकीकृत दृष्टिकोणबाट अघि बढाइरहेको बताए। “जलवायु परिवर्तनको विषय वातावरणसँग मात्र सम्बन्धित छैन, यो पर्यटन र सम्पदासँग पनि जोडिएको छ,” उनले भने।

कार्यक्रममा सहभागी जलवायु विज्ञहरूले स्थानीय स्तरमा देखिएका जलवायु परिवर्तनका असरलाई विश्वव्यापी नीतिमा समेट्नुपर्नेमा जोड दिएका थिए।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) नेपालका प्रतिनिधि विजय सिंहले जलवायु परिवर्तन, जैविक विविधताको ह्रास र वायु प्रदूषण विश्वव्यापी चुनौती बनेको उल्लेख गर्दै शून्य कार्बन उत्सर्जन रणनीतिको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए।

कृषि तथा वातावरण क्षेत्रका विज्ञहरूले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण याक–चौरी पालन, जीवनशैली र उत्पादनमा असर परेको भन्दै जीविकोपार्जन सुधारमा पर्यटन र कृषिको भूमिका महत्वपूर्ण हुने धारणा राखे।

कार्यक्रममा नेपाल पर्यटन बोर्ड, राष्ट्रिय प्रकृति संरक्षण कोष, खुम्बु पासाङल्हामु गाउँपालिकालगायत संस्थाको सहकार्यमा जलवायु परिवर्तन, पर्यटन र जैविक विविधता विषयमा छलफल गरिएको थियो।

संस्कृति मन्त्रालयका सचिव निरौलासहित सहभागी विज्ञहरूले जलवायु परिवर्तनको असरबारे मिडिया र सरोकारवालाको भूमिकालाई अझ प्रभावकारी बनाउनुपर्नेमा पनि जोड दिएका थिए।


सम्बन्धित समाचार