२३ जेठ,काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सह–संयोजक माधवकुमार नेपालले सरकार रोजगारी सिर्जना, उद्योग संरक्षण तथा उत्पादनमुखी अर्थतन्त्र निर्माणमा गम्भीर बन्नुपर्ने बताएका छन्।
नेपाल सुनचाँदी कला व्यवसायी संघको २४औँ वार्षिक साधारणसभालाई शनिबार सम्बोधन गर्दै उनले लगानीमैत्री वातावरण निर्माण गर्न राज्यले विशेष ध्यान दिनुपर्ने बताए। राज्यको प्रमुख दायित्व रोजगारीका अवसर सिर्जना गर्नु र निजी क्षेत्रलाई व्यवसाय विस्तारका लागि अनुकूल वातावरण उपलब्ध गराउनु रहेको उनको भनाइ थियो।
नेपालले व्यवसाय र उद्योगलाई प्रतिकूल असर पर्ने नीति तथा निर्णयबाट राज्य सचेत रहनुपर्ने उल्लेख गर्दै उद्योग–व्यवसाय फस्टाउन आवश्यक सहजीकरण गर्नुपर्ने बताए। देशभित्र पर्याप्त रोजगारीका अवसर सिर्जना हुन नसक्दा युवाहरू वैदेशिक रोजगारीतर्फ पलायन हुन बाध्य भएको उनले बताए।
उनले रोजगारी प्रवर्द्धन गर्न सक्ने क्षेत्रहरूको पहिचान गरी राज्यले प्रभावकारी योजना बनाउनुपर्नेमा जोड दिए। उत्पादन र उद्यमशीलता प्रवर्द्धनमार्फत देशभित्रै रोजगारीका अवसर विस्तार गर्न सकिने उनको धारणा थियो।
माधव नेपालले आयातमा निर्भर अर्थतन्त्रलाई उत्पादन र निर्यातमुखी बनाउने स्पष्ट रणनीति सरकारसँग नदेखिएको आरोप लगाए। स्वदेशी उत्पादन वृद्धि, आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमार्फत आर्थिक सुदृढीकरण सम्भव भए पनि त्यसतर्फ पर्याप्त ध्यान नपुगेको उनले बताए।
उनले नेपालका औषधि उद्योगहरू गम्भीर संकटमा परेको उल्लेख गर्दै करिब १५० भन्दा बढी औषधि उद्योग बन्द हुने अवस्थामा पुगेको दाबी गरे। यस विषयमा संसद्, राजनीतिक दल तथा सरोकारवाला निकायले सरकारको ध्यानाकर्षण गराउनुपर्ने आवश्यकता उनले औंल्याए।
सरकारले निजी क्षेत्रका गुनासा सुन्ने, नियमित संवाद गर्ने तथा नीतिगत सुधारमार्फत उद्योग–व्यवसायलाई संरक्षण गर्ने वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ थियो। कृषि, जलविद्युत् र खनिज स्रोतको विकासलाई आर्थिक समृद्धिको आधार मान्दै उनले उत्पादन, रोजगारी र आम्दानी वृद्धि भए उपभोग तथा व्यापार स्वतः विस्तार हुने बताए।
सिमेन्ट उद्योगलगायत विभिन्न उत्पादनमूलक क्षेत्र समस्यामा परेको उल्लेख गर्दै नेपालले प्राकृतिक स्रोत–साधनले सम्पन्न नेपालले कृषि, ऊर्जा र खनिजमा आधारित औद्योगिक विकासमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्नेमा जोड दिए।
उनले सुनचाँदीलगायतका वस्तुमा हुने अवैध कारोबार नियन्त्रण गर्न सरकारलाई आग्रह गर्दै वैध व्यापार र स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने नीति आवश्यक रहेको बताए।

















