२३ जेठ,काठमाडौं । सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीले शनिबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ।
प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्तिमा नेपालले भारतको भूमि मिचेको भन्ने भनाइ राष्ट्रिय हित विपरीत र तथ्यहीन रहेको आरोप लगाउँदै पार्टीले माइतीघर मण्डलामा खबरदारी सभा सहित प्रदर्शन गरेको हो।
प्रदर्शनमा सहभागीहरूले ‘नेपाली माटोको रक्षा गरौं’, ‘राष्ट्रको सम्मान जोगाऔं’, ‘गैरजिम्मेवार अभिव्यक्तिको विरोध गरौं’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।
सो अवसरमा श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सीमासम्बन्धी विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवार रहेको दाबी गरे। उनले सीमा समस्या र सीमा मिच्ने विषय फरक–फरक भएको भन्दै हरेक देशमा सीमा विवाद हुने भए पनि त्यसलाई सही ढंगले सम्बोधन गर्नुपर्ने धारणा राखे।
उनले संसदमा आफ्नो पार्टीले उठाउँदै आएको अडान कायम रहने समेत बताए।

















