Logo

९ माघ,वीरगञ्ज । सातवटा भ्रष्टाचार मुद्दा लागेका मालपोत कार्यालयका पर्साका तत्कालिन नासु मदनप्रसाद गुप्तालाई ५ वर्ष कैद सजाय भएको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले गुप्तालाई कैद सजाय तोकेको हो । अर्का आरोपित नगेन्द्र प्रसाद चौधरीलाई ४ वर्ष कैद सजाय सुनाइएको छ ।

मालपोत कार्यालयको राजस्व रकम हिनामिना गरेको आरोपमा दुवै जनाबाट ४७ लाख ५४ हजार रुपैयाँ भराउने र त्यसको दोब्बर अर्थात ९५ लाख ८ हजार रुपैयाँ जरिवाना तिराउने आदेश पनि गरेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए ।

दोषी ठहर भएका आरोपितमध्ये एक नासु मदन प्रसाद गुप्तामाथि सातवटा भ्रष्टाचार मुद्दा लागेको थियो । नौ वर्षअघि राजस्व हिनामिनाको घटनामा अख्तियारले उनीमाथि ९५ लाख ८ हजार रुपैयाँ विगो मागदावी गरेको थियो ।

अख्तियारको आरोपपत्र अनुसार, जग्गा कारोवारका क्रममा प्राप्त हुने राजस्वको रकम र विस्तृत विवरण लेखा शाखामा नबुझाई उनले हिनामिना गरेका थिए । सोही आरोपमा अख्तियारले उनीमाथि आर्थिक वर्ष २०७२÷७३ मा राजस्व हिनामिना गरेको आरोपमा ९५ लाख ८ हजार विगो र त्यसको दोब्बर रकम जरिवाना मागदावी गरेको हो ।

अख्तियारले पछिल्लोपटक नासु गुप्ता विरुद्ध ७ असोजमा मुद्दा दायर गरेको थियो । मालपोत कार्यालय, पर्सामा हुँदा करिव साढे १२ लाख रुपैयाँ हिनामिना गरेको उनीमाथि आरोप थियो ।

अख्तियारका अनुसार, १६ माघ २०६९ देखि आठ दिनको अवधिमा संकलन भएको १४ लाख रुपैयाँ राजस्वमध्ये उनले एक लाख ६२ हजार रुपैंया मात्रै लेखा शाखामा बुझाइ अरु रकम हिनामिना गरेका थिए ।

त्यतिबेला उनीमाथि ‘उठाएको राजस्व प्रचलित कानुन बमोजिम दाखिला नगरी हिनामिना गरेको’ आरोप थियो । उनी सहित अर्का कर्मचारीमाथि दुई किसिमको अभिलेख खडा गरी सरकारी कागजात गैरकानूनी तरिकाले सच्याउने, केरमेट गर्ने, थपघट गर्ने वा हेरफेर गरेर भ्रष्टाचार गरेको आरोप थियो ।


सम्बन्धित समाचार