Logo

२१ जेठ, काठमाडौं । एसियन गेम्स पुरुष क्रिकेट छनोटमा नेपालले उत्कृष्ट लय कायम राख्दै समूह विजेताका रूपमा सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।

बिहीबार सिंगापुर नेसनल क्रिकेट ग्राउन्डमा सम्पन्न समूह ‘ए’ को अन्तिम खेलमा नेपालले मलेसियालाई १६७ रनको फराकिलो अन्तरले पराजित गरेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल भुर्तेलको कीर्तिमानी शतक र आसिफ शेखको अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा २७५ रनको विशाल योगफल खडा गरेको थियो ।

कुशल भुर्तेलले ५४ बलमा १४ चौका र ८ छक्का प्रहार गर्दै १२६ रनको शानदार इनिङ खेले भने आसिफ शेखले २४ बलमा ६८ रन जोडे। यो शतकसँगै कुशल टी–२० अन्तर्राष्ट्रियमा लगातार दुई शतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।

नेपालले दिएको २७६ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको मलेसियाले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै मात्र १०८ रन बनाउन सक्यो। मलेसियाका लागि कप्तान सयद अजिजले ५४ रन जोडे पनि अन्य ब्याट्सम्यान टिक्न सकेनन्। नेपालका बलिङतर्फ शेर मल्लले सर्वाधिक तीन विकेट लिए भने करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, कुशल मल्ल र कप्तान दीपेन्द्रसिंह ऐरीले एकरएक विकेट हात पारेका छन् ।

यस जितसँगै नेपालले दुई खेलबाट चार अंक जोड्दै समूह विजेता बनेको छ । समान दुई अंक जोडेको मलेसिया पनि उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको छ ।

यसअघि नै नेपाल र मलेसियाले चीनलाई पराजित गर्दै एसियन गेम्सका लागि आफ्नो स्थान सुनिश्चित गरिसकेका थिए । समूह चरणमा अपराजित रहँदै सेमिफाइनलमा प्रवेश गरेको नेपालको प्रदर्शनले एसियन गेम्समा पदकको बलियो दाबेदारका रूपमा उभ्याएको छ ।


सम्बन्धित समाचार