Logo

१४ माघ,काठमाडौं । नेकपा एमालेसँग अलग भएको एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल आफ्नो राजनीतिक प्रतिवेदनमा एमालेप्रति आक्रामकरुपमा प्रस्तुत भएका छन्। उनले पार्टी कार्यकर्तालाई जोगाउने र एमालेको विरोध गर्दै सत्ता गठबन्धनलाई कायम राख्दै अघि बढ्ने मार्गनिर्देशन आफ्नो राजनीतिक प्रतिवेदनमा पेस गरेका छन्।

आइतबारदेखि सुरु भएको पार्टीको दोस्रो केन्द्रीय परिषद् बैठकमा समसामयिक राजनीति र नेपालको अवस्थाबारे लिखित सम्बोधन गर्दै अध्यक्ष नेपालले देशको राजनीतिक, आर्थिक, सांस्कृतिक र अन्तर्राष्ट्रिय अवस्थाबारे चर्चा गर्दै एमाले अन्य दलभित्र खेलेर जसरी पनि सत्तामा आउन खोजेको आरोप लगाएका छन्।

एमालेले जसरी पनि सत्ता प्राप्त गर्ने लक्ष्यका राखेर अत्यन्त गैर जिम्मेवार ढंगले सत्ता गठबन्धनभित्र पनि राष्ट्रिय सभाको निर्वाचन अघि खेलेको तर असफल भएको दाबी नेपालले गरेका छन्। ‘सत्ताच्यूत भएर प्रमुख प्रतिपक्षमा पुगेको एमाले अत्यन्त गैर जिम्मेवार ढंगले नकारात्मक भूमिका निर्वाह गरिरहेको छ र विभिन्न ढंगले सरकार सञ्चालनमा रहेको वर्तमान गठबन्धन तोड्न उद्यत रहेको छ’, अध्यक्ष नेपालको दावी छ, ‘राष्ट्रिय राजनीतिक परिस्थितिमा अझै पनि अस्थिरताका बादलहरु मडारिइरहेको छ।’

उनले राष्ट्रिय सभा निर्वाचनअघि एमालेले सत्ता गठबन्धनभित्र खेलेर विभाजन गर्न खोजेको तर सफल नभएको पनि दाबी गरे। ‘मुलुकमा कोभिडको प्रकोपपछि प्रकट भएको आर्थिक संकट र मन्दी अहिलेसम्म पनि कायमै छ। यसमा केही सुधार भए पनि उठेको राजस्वले चालू खर्च धान्न धौ–धौ परिरहेको छ,’ नेपाललको प्रतिवेदनमा भनिएको छ, ‘मूल्यवृद्धि र मुद्रास्फीति बढिरहेको छ। व्यापार घाटा चुलिँदै गएको छ । ठूलो सङ्ख्यामा युवा जनशक्ति वैदेशिक रोजगारीमा गएको छ र रेमिट्यान्सले अर्थतन्त्रलाई टेवा दिइरहेको अवस्था छ। आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्ने भनिए पनि त्यस अनुसारको काम हुनसकेको छैन।’

उनले भ्रष्टाचार, कमिशनतन्त्र र तस्करीका अनेकौं काण्डहरु उदाङ्गिएको भन्दै सरकारले भ्रष्टाचारीहरुलाई कारबाही गर्ने प्रयास गरिरहेको बताएका छन्। ‘आर्थिक क्षेत्रको सुधार र भ्रष्टाचार नियन्त्रण एवं सुशासनका निम्ति अझै प्रभावकारी कार्य गर्नुपर्ने आवश्यकता छ’, अध्यक्ष नेपालले भनेका छन्, ‘मुलुकको वर्तमान अवस्थामा जनताको निराशा, प्रतिरोध र आक्रोशको भावनालाई उपयोग गर्दै प्रतिगमनकारी तथा पश्चगमनकारीहरुबाट विद्यमान व्यवस्था परिवर्तनको नाममा विभिन्न गतिविधिहरु संचालन गरी राजनीतिक अस्थिरता सिर्जना गर्ने र सामाजिक सद्भाव खलबलाउने कोसिस भइरहेको छ।’
उनले यस्तो अवस्थामा वर्तमान वाम–लोकतान्त्रिक शक्तिको सरकारका सामु निश्चित दायित्वहरु रहेको पनि बताएका छन्। उनले गठबन्धनका दलहरुबिच छलफल गरेर तयार पारिएका न्यूनतम साझा कार्यक्रम कार्यान्वयनमा लैजानुपर्ने बताएका छन्। गठबन्धनका दलहरुबीचमा आपसी समझदारीका साथ काम हुनपर्दछ भन्नेमा पार्टीले जोड दिएको भन्दै नेता नेपालले मुलुकमा राजनीतिक स्थिरता र सरकारको स्थिरताको प्रश्न पनि उठिरहेको बताएका छन्।

नेपालले पेस गरेको दस्ताबेजमा प्रतिपक्षमा रहेका दलहरुले जस्तासुकै विषयमा पनि संसद् अवरोध गर्ने गरेको भन्दै सत्ताच्यूत भएर प्रमुख प्रतिपक्षमा पुगेको एमाले अत्यन्त गैर जिम्मेवार ढंगले नकारात्मक भूमिका निर्वाह गरिरहेको र विभिन्न ढंगले सरकार संचालनमा रहेको वर्तमान गठबन्धन तोड्न उद्यत रहेको बताएका छन्।

आइतबार र सोमबार दुई दिन चल्ने केन्द्रीय परिषद् बैठकले विधान संशोधन मस्यौदामाथि छलफल गरेर अन्तिमरुप दिनेछ। त्यसपछि आगामी जेठमा हुने राष्ट्रिय महाधिवेशनले अनुमोदन गरेसँगै संशोधित विधान कार्यान्वयनमा जानेछ।

यस्तो छ अध्यक्ष नेपालको प्रतिवेदन


सम्बन्धित समाचार