Logo

१५ माघ,वीरगञ्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले अर्को वर्षदेखि नीति तथा बजेट निर्माणको सन्दर्भमा आमुल परिवर्तन ‘रेडिकल रिफर्म’ ल्याउने तयारी गरेको बताए ।

प्रेस सेन्टर नेपाल केन्द्रीय समितिले बीरगञ्जमा आयोजनाको आफ्नो २० औं स्थापना दिवसको अवसरमा आयोजीत कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अर्को वर्षदेखि बजेट तथा नीति निर्माण प्रक्रियामा ठूलो क्रान्ति ल्याउने ल्याउन लागेको बताए ।

उनले भने,‘ अब मेरो ध्यान यो पटक नीति तथा कार्यक्रम तथा बजेटतर्फ केन्द्रीत रहन्छ, यसमा अब जनताको सहभागीता गराएर बनाउने तयारी गर्दैछु । जनताको तथा सर्वसाधारणबाट आएको सुझावहरुलाई नीति तथा कार्यक्रममा समेटिनेछ ।’

‘गत सालको नीति तथा कार्यक्रम र बजेट जनताको पक्षमा भएन, त्यसकारण अब अर्को वर्षदेखि नीति तथा कार्यक्रमको सवालमा जनतामा पहिला बहस चलाउँछु, उनले भने,‘यसको प्रकृति र प्रक्रियाबाट बदलेर जनताको पक्षमा आमुल परिवर्तन ल्याउने तयारीमा छु ।’

यसैगरी बजेट निर्माणको सवालमा पनि यही फर्मुला अपनाउने प्रधानमन्त्री प्रचण्ड सुनाए । उनी भन्छन्,‘ बजेटको सवालमा पनि नीति तथा कार्यक्रम जस्तै फर्मुला अपनाइन्छ, यसमा सबैको राय सल्लाह लिइन्छ । अनि त्यसपछि लोकतान्त्रिक बजेट बनाइन्छ । यो सरकारले ३ करोड भन्दामाथिको बजेट संघले हेर्ने र त्यसभन्दा कमका बजेट प्रदेश र स्थानीयलाई दिइने तयारी पनि गरेको छ ।’

योसंगै पुराना योजना प्राथमिकतामा राखेर पूरा गर्नेतर्फ पहिलो जोड हुने र जनतालाई प्रत्यक्ष फाइदा हुने गरी बजेट निर्माण गर्ने जमर्को गरेको प्रधानमन्त्री प्रचण्डले बताए ।
‘सिलिङ तोक्ने सवालमा पनि सबै मन्त्रालयहरुको सल्लाह अनुसार तोक्ने सरकारले आफ्नो ध्यान केन्द्रीत गरेको छ, साथै देशमा रुग्ण भएर बसेका उद्योगहरुलाई सञ्चालन गर्ने सवालमा केही ठोस निर्णय भएकोले केही सातामा जनताको यसको परिणाम देखिनेछन्,’ प्रधानमन्त्री प्रचण्डले भने ।

प्रधानमन्त्री प्रचण्डले सोसल मिडियाले नकारात्मक प्रभाव जमाइरहेको उल्लेख गरेका छन् । उनले पछिल्लो समय सामाजिक सञ्जाल स्थिरता र शान्ति विरोधी कामका लागि प्रयोग भइरहेको टिप्पणी समेत गरे । त्यसका लागि एउटा तप्का लागिपरेको समेत प्रधानमन्त्रीको भनाइ छ ।

प्रचण्डले सोसल मिडियाका नकारात्मक गतिविधिलाई प्रतिवाद गर्न जरुरी रहेको बताए । प्रधानमन्त्रीले भने, ‘हामीबाट त्यस्ता तत्त्वको प्रतिवाद भइरहेको छैन । अझै पुगेको छैन यसका लागि प्रेस सेन्टर अलि लाग्नुपर्छ ।’

अहिले आइटीको जमाना भएको भन्दै उनले त्यसको विशेषता बुझ्नुपर्ने र त्यसमा अभ्यस्त हुन समेत उनले पत्रकारहरूलाई आग्रह गरे ।


सम्बन्धित समाचार