Logo

१८ माघ,काठमाडौं । त्रिभुवन विमानस्थलबाट भिजिट भिसाका नाममा हुने मानव तस्करीमा संलग्नविरुद्ध आज मुद्दा दर्ता गर्ने तयारी गरिएको छ।

प्रहरी प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले ७ अध्यागमन अधिकृतसहित २२ जनाविरुद्ध लिखत कीर्ते र संगठित अपराध सम्बन्धी कसूरमा मुद्दा दर्ता गर्न लागेको हो। जिल्ला सरकारी वकील कार्यालय, काठमाडौंका प्रवक्ता सिताराम अर्यालले दिउँसो ३ बजेपछि उच्च अदालतमा मुद्दा दर्ता गरिने बताए।

हिजो सो प्रकरणको अनुसन्धान भएको ६० दिन पुगेपनि उच्च अदालत पाटन मातहतका अदालतहरुमा शोक विदा दिइएका कारण आज मुद्दा दर्ता गर्न लागिएको हो।

जिल्ला प्रहरी परिसर, काठमाडौँले भिजिट भिसा प्रकरणमा संलग्न रहेकामध्ये २२ जनालाई प्रतिवादी बनाई मुद्दा चलाउन रायसहितको प्रतिवेदन माघ १४ गते जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा पेश गरेको थियो।

सोही प्रतिवेदनका आधारमा सरकारी वकिलले काठमाडौँ जिल्ला अदालतमा लिखत कीर्ते र संगठित अपराध सम्बन्धी कसूरमा मुद्दा दर्ता गर्न लागेको हो।

त्यसबाहेक भिजिट भिसामा सेटिङ गर्ने, नक्कली कागजात तयार पार्ने र आफ्नो नक्कली कागजात तयारी पारी विदेश जान खोज्ने मानिसहरु समेतलाई प्रतिवादी बनाएर मुद्दा दायर गर्न लागिएको हो।

प्रहरीको अनुसन्धानका क्रममा विभिन्न व्यक्तिहरुले संगठित समूह बनाई भिजिट भिसाका नाममा रकम लिएर मानव तस्करी गर्ने गरेको खुलेको छ।


सम्बन्धित समाचार