Logo

१८ माघ,काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा दर्ता गराएको छ ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको नामबाट बिहीबार सङ्घीय संसद्को प्रतिनिधि सभामा दर्ता गरिएको विधेयकमा अध्यादेश खारेज भइसकेकाले ऐनमा भएको साबिककै व्यवस्था कायम राखी विधेयक दर्ता गरिएको छ ।

नेपालको संविधानको भाग २९ मा राजनीतिक दल सम्बन्धी व्यवस्था बमोजिम राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ ले राजनीतिक दल सम्बन्धी ऐन,२०७३ को केही व्यवस्थाहरूमा संशोधन गरेको थियो ।

तर २०७८ असोज ११ मा सो अध्यादेश राष्ट्रपतिबाट खारेज भएकाले अध्यादेशले परिवर्तन गरेका कानुनी व्यवस्थाहरूलाई हटाएर ऐनको साबिककै व्यवस्था कायम राख्न संशोधन विधेयक ल्याइएको हो । विधेयकमा ऐनको दफा ३३ को उपदफा २, दफा ४८ को उपदफा १ का सम्बन्धमा अध्यादेश खारेज भएकाले साबिककै अवस्था कायम राख्ने उल्लेख छ ।

ऐनमा भएको ‘सङ्घीय संसद्का संसदीय दलका कम्तीमा ४० प्रतिशत सदस्यले छुट्टै नयाँ दल बनाएमा वा अर्को कुनै दलमा प्रवेश गरेमा वा त्यस्ता सदस्यहरू समेत भई नयाँ दल गठन गरेमा त्यस्तो संसदीय दलका सदस्यले दल त्याग गरेको मानिने छैन’ भन्ने व्यवस्थालाई संशोधन गरी ‘महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति र नयाँ दर्ता भएको दलको हकमा त्यस्तो दल दर्ता हुँदाको बखतको केन्द्रीय समितिको २० प्रतिशत वा सो भन्दा बढी सदस्य वा त्यस्तो दलको सङ्घीय संसद्को संसदीय दलको २० प्रतिशत वा सो भन्दा बढी सदस्य’ राखेर तत्कालीन सरकारले अध्यादेश ल्याएको थियो ।

सङ्घीय संसद्का प्रवक्ता एकराम गिरीले सरकारले राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक संसदमा दर्ता गराएको र सो विधेयकमा ऐनमा भएकै साबिकको व्यवस्था गर्न भनिएको जानकारी दिनुभयो ।

सरकारले आगामी सोमबारका लागि संसद्को अधिवेशन आह्वान गरेको छ ।

 


सम्बन्धित समाचार