Logo

१९ माघ,रौतहट । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मधेसको भाग्य निर्माण गर्ने पार्टी नेकपा एमाले भएको बताएका छन् । नेकपा एमाले रौतहटको प्रथम प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले एमालेले मधेस निर्माणको योजना अघि सारेको बताए ।

आफूलाई मधेसका मसिहा हौँ भनेर गफ दिनेहरूले मधेसका जनताको हितमा काम नगरेको पोखरेलले बताए । उनीहरूले मधेसका जनतालाई झुक्याउने र ठग्ने काम मात्र गरेका पोखरेलको भनाइ छ । तराईमा बाह्रै महिना सिँचाइ सुविधा पु¥याउन सुनकोसी–मरिण डाइभर्सन आयोजना केपी ओलीले सुरु गरेको उनले स्मरण गराए ।

त्यस्तै पूर्व–पश्चिम राजमार्ग, हुलाकी राजमार्ग विस्तार र स्तरोन्नतिको काम पनि नेकपा एमाले नेतृत्वको सरकारले नै गरेको पोखरेलले बताए । जसले जनताको भाग्य निर्माण गर्न सक्छ त्यो नै मधेसको मसिहा हुने उनले बताए । पोखरेलले देश विकासका लागि केपी शर्मा ओली नै चाहिन्छ भन्ने कुरा पुष्टि भइसकेको बताए । एमाले र केपी ओली सरकारको नेतृत्वमा नहुँदा देश विकासको काम ठप्प भएको उनको भनाइ छ । पोखरेलले माधव नेपालले कैयौँ पटक जिते पनि रौतहट र मधेसको विकासमा ध्यान नदिइएको बताए ।

प्रधानमन्त्री बनेपछि भारतले भ्रमणको निम्तो दिएको बेला केपी ओलीले जनता नाकाबन्दीका कारण पीडामा भएका बेला म भारत आउँदिन भनेर भनेको महासचिव पोखरेलले स्मरण गरे । केपी ओलीको अडानकै कारण नाकाबन्दी अन्त्य भएको उनले बताए । यदि त्यस बेला अरू कोही भएको भए नाकाबन्दीविरुद्ध खडा हुनै नसक्ने समेत महासचिव पोखरेलले बताए ।


सम्बन्धित समाचार