Logo

२३ माघ,जनकपुर । जनतालाई भ्रमित गर्दै केही प्रतिक्रान्तिवादी शक्तिहरु राजतन्त्र फर्काउने षड्यन्त्र भइरहेको भन्दै राजनीतिक दललगायतकाले सरकार र प्रशासन निकायहरुको ध्यानाकर्षण गराएका छन् ।

करिब एक दर्जन नेता तथा नागरिक समाजका अगुवाहरुले एक प्रेस विज्ञप्ति जारी गर्दै जनताको सर्वोच्चता र संविधानको प्रस्तावनासहितको अपरिवर्तनीय प्रावधान विपरीत, अराजकता फैलाउने तत्वहरुमाथि सरकार र प्रशासनको कारगर कारवाहीको आभावले आउने दिनहरुमा

स्थिति अनियन्त्रित नहोस् भन्नेतिर सरकार र प्रशासनिक निकायहरुको ध्यानाकर्षण गर्दै यसका विरुद्ध सम्पूर्ण गणतन्त्रवादी बौद्धिकवर्ग, युवा, विद्यार्थी, मजदूर–किसान, व्यवसायी र नागरिक समाजका सबै अंगलाई सक्रियताका साथ अग्रसर हुन अपील गरेका छन् ।

तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लाल, नेपाली कांग्रेसका नेता रामसरोज यादव, नेकपा एमालेका धनुषा जिल्ला अध्यक्ष राजकिशोर यादव, नागरिक समाजका अगुवा रोशन जनकपुरी, नेकपा एकीकृतृ समाजवादी धनुषाका जिल्ला अध्यक्ष रामचन्द्र पण्डित,

नेकपा माओवादी केन्द्र धनुषाका नेता श्रीनारायण प्रतिहस्त, नेकपा एसका शीतल झा, तमलोपाका नेता तथा संविधानसभा सदस्य विजयकुमार सिंह, नेपाली कांग्रेसका नेता जीवनाथ चौधरी, नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषदका नेता सन्तोष यादव र

तमलोपाका नेता रामजी रायले संयूक्तरुपमा जारी गरेको विज्ञप्तिमा जनताको लामो संघर्ष र अमर शहीदहरुको बलिदानले सामन्ती, निरंकूश, केन्द्रीकृत, एकात्मक राज्य व्यवस्था र निरंकूश राजशाहीको अन्त्य गर्दै नेपालका जनताले संघर्षबाट ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था विरुद्ध जाई लागेमा आफुहरु सचेततापूर्वक तयार रहेको भन्दै चेतावनीसमेत दिएका छन् ।

‘शहीदहरुको अमूल्य शहादत र जनताको निरन्तरको संघर्षले प्राप्त यस उपलब्धिको संरक्षण र सम्वर्द्धनको निमित्त गणतन्त्रवादीहरु कुनै पनि मूल्य चुकाउन सदैव तत्पर रहेको सबै प्रतिक्रान्तिवादी प्रतिक्रियावादीहरुलाई चेताउँदछौं ।’ जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।


सम्बन्धित समाचार