Logo

२४ माघ,काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बेथितिमा चलेको बजेटरी सिस्टमलाई आफूले अनुशासनमा ल्याउने काम शुरु गरेको बताएका छन्।

आज इकोनोमिक मिडिया एशोसिएशन नेपाल (इमान) ले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री महतले बजेटलाई सिस्टममा ल्याउन अझै दुई वर्ष लाग्ने बताए। उनले विगतमा अनुत्पादक क्षेत्रमा खर्च भएका कारण सिस्टममा ल्याउन समय लाग्ने जानकारी दिए।

श्रोत नै सुनिश्चित नभइकन घोषणा भएका योजना र शिलान्यस भएका परियोजनाका कारण समस्या आएकाले आफूले त्यही समस्या समाधानको पहल गरिरहेको मन्त्री महतको भनाइ छ। उनले समग्रमा अहिले देशको अर्थतन्त्र लयमा फर्किरहेको दाबी गरे। उनले वाह्य क्षेत्र पनि नेपालमा लागानी गर्न सकारात्मक रहेको दाबी गरे।

अर्थमन्त्री डा. महतले बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको ऋण तिर्नुको विकल्प नरहेको बताए। अहिले बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लिनेहरुका लागि केही सहज भएको र यो राहतलाई हेरेर ऋणीहरुले ऋण तिर्नुपर्ने बताए। माफी गर्नसक्ने आर्थिक श्रोत देशको नरहेकाले ऋण माफी नहुने मन्त्री महतको भनाइ छ। केही मानिसहरु राजनैतिक निहीत उद्देश्य लिएर तिर्नुपर्दैन भन्दै आन्दोलन गरिरहेको भन्दै यस्तो प्रवृत्तिको पछि लाग्नु आफ्नै खुट्टामा बञ्चरो हान्नु बराबर भएको टिप्पणी गरे। उनले अहिले सहकारीको रुप नै नरहेको जिकिर गरे।

अर्थमन्त्री डा. महतले आफूले आएर काम गरेपछि शेयर मार्केट १८ सयबाट अहिले २१ सय भन्दा माथि पुगेको दाबी गरे।


सम्बन्धित समाचार