Logo

२५ माघ,काठमाडौं । वैदेशिक रोजगारीका लागि पठाइदिन्छु भन्दै लाखौँ रुपैँया ठगेको आरोपमा तीनजना पक्राउ परेका छन् । बैदेशिक रोजगारीका लागि युरोप पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिहरुसँग ६३ लाख रूपियाँ ठगी गरेको अभियोगमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा ललितपुर नख्खु बस्नेहरू सर्लाही हरिवन नगरपालिका वडा नंं ३ घर भएका सरोज यादव, नागेन्द्र यादव नाम बताउने ३५ वर्षीय रामेश्वर सिंह र धनुषा मिथिला नगरपालिका २ नक्टाझिज घर भएका सरोज यादव नाम बताउने २७ वर्षीय रामसेवक सिंह रहेका प्रहरीले जनायो ।

उनीहरूले ५५ जनालाई युरोप पठाई प्रतिष्ठित कम्पनीमा मासिक एक लाख ५५ हजार रूपियाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी ठगेको आरोप छ । पीडितहरूबाट पटक–पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको प्रहरी बताउँछ ।

प्रहरीले उनीहरूको साथबाट विभिन्न व्यक्तिको नाममा काटिएको ६० लाख रूपियाँ बराबरको २५ थान चेक र सिम कार्ड नौ थान बरामद गरेको छ । उनीहरूमाथि ठगी, कीर्ते, जालसाजी, बैकिङ कसुरलगायतका मुद्दामा थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ ।


सम्बन्धित समाचार