Logo

२५ माघ,वीरगञ्ज । पर्साको बहुदरमाइ नगरपालिकाको नाममा खरिद गरिएको सामानहरु कर्मचारीको घरमा प्रयोग भइरहेको तथ्य बाहिरिएको छ ।

नगरपालिकाको कार्यालयले खरिद गरिएका सामग्रीहरु बुझाउन ताकेता गरेपछि यसको खुलासा भएको हो ।

तीन वर्ष अगाडि बहुदरमाइ नगरपालिकाको नाममा खरिद गरिएका विभिन्न १५ थरिका सामग्रीहरु कार्यालयमा नभेटिएपछि ती सामानहरु बुझाउन तत्कालीन निमित्त प्रशासकीय अधिकृत विदुरप्रसाद उप्रेतीलाई पत्र काटिएको कागजात फेला परेको छ ।
खोजविनका क्रममा सरकारी सम्पति तथा जिन्सी सामान तत्कालीन निमित्त प्रमुखले व्यक्तिगतरुपमा प्रयोग गरिरहेको पाइएपछि सामान बरबुझारथको लागि पत्र काटिएको जिन्सी शाखा प्रमुख रामबाबु पटेलले जनाए ।

०७७ सालमा नगरपालिकाका लागि खरिद गरिएका सामाग्रीहरु तत्कालीन निमित्त प्रमुख विदुर प्रसाद उप्रेतीले आफ्नो व्यक्तिगतरुपमा प्रयोग गरिरहेको पाइएपछि खरिद गरिएका सामान बरबुझारथको लागि पत्र काटिएको जिन्सी शाखा प्रमुख पटेल बताउँछन् ।
नगरपालिकाले उप्रेतीको नाममा एक पत्र लेख्दै सामग्री बरबुझारथ सम्बन्धमा जानकारी गराएको उनको भनाइ छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षरमा १६ पुसमा पत्र नै काटेर खरिद सामग्रीको ल्याउन भनिएको छ, जसको हदम्याद १५ दिन तोकिएको छ ।

तरपनि अहिलेसम्म तत्कालीन निमित्त प्रशासकीय अधिकृत उप्रेतीले भने पत्रमा भनिएका कुनै पनि सामग्री नबुझाएको जिन्सी शाखा प्रमुख रामबाबु पटेलले जनाए ।

यी सामाग्रीहरु निजी घरमा प्रयोग
तत्कालीन निमित्त प्रशासकीय अधिकृत उप्रेतीले आफ्नो घरमा लगेर निजी प्रयोग गरिरहेकोले त्यसलाई फिर्ताको माग गरिएको छ ।

नगरपालिकाले काटेको पत्रमार्फत भिभो मोबाइल एक थान, बक्स पलंग एक थान, सोफा सेट २ थान, स्टील दराज एक थान, स्टेप्लाइजर एक थान, पानासोनिक कम्पनीको एसी एक थान, एसी स्टेण्ड एक थान र भिभो भिटु स्मार्ट फोन एक थानको माग गरिएको छ ।

साथै कोरोना अस्पताल सञ्चालन भएको समयको खरिद गरिएका सामग्रीहरु पनि कार्यालयमा बुझाउन भनिएको छ ।

कोरोनाकालमा खरिद गरेका कम्पलिट हस्पीटल बेड २ थान, दराज एक थान, अक्सिजन सिलिण्डर ५ थान, डेक्सटप एक थान, ब्रोदर प्रिन्टर एक थान, विभिन्न किसिमका औषधीहरु र कम्बल ३५ थानसहितका खरिद गरिएका सामानहरु बुझाउन पत्र लेखिएको नगरपालिकाको कार्यालयले जनायो ।

करिब ५ लाख बराबरमा खरिद गरिएको सामग्रीहरुमा गोलमोल गरिएको नगरपालिकाको आशंका छ ।

ऐनले के भन्छ ?

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ मा सरकारी धनमाल वा सम्पतिको संरक्षण तथा तोकिएको काममा प्रयोग गर्नुपर्ने भनिएको छ ।

यो ऐनको दफा (५५) मा प्रष्टरुपमा भनिएको छ, ‘कार्यालयमा प्राप्त हुन आएको सम्पूर्ण नगदी तथा जिन्सीको संरक्षणको प्रबन्ध मिलाउनु जिम्मेवार व्यक्तिको हुनेछ, त्यसकारण कार्यालयमा प्राप्त हुन आएको नगदी वा जिन्सी तोकिएको कामबाहेक अन्य काममा प्रयोग वा खर्च गर्नु हुँदैन । कुनै कर्मचारीले अधिकार प्राप्त अधिकारीको स्वीकृतिबिना सरकारी सम्पति प्रयोग गरेको देखिएमा जिम्मेवार व्यक्तिले यस्तो जिन्सी फिर्ता लिइ वा खर्च गरेको रकम असुल उपर गरी विभागीय कारबाहीका लागि विभाग प्रमुख समक्ष लेखि पठाउनुपर्ने उल्लेख छ ।’

नगरपालिकाका प्रशासकीय अधिकृत शेरे मुस्तुफाका अनुसार नियमले जे अधिकार दिएको छ, त्यहीअनुसार कानुनी प्रक्रिया बढाइन्छ ।
यता तत्कालीन निमित्त प्रशासकीय अधिकृत उप्रेतीले भने आफूले सबै सामान फिर्ता गरेको प्रतिक्रिया दिए । आफूले घरको लागि नगरपालिकाको कुनैपनि सामान प्रयोग नगरेको उनको भनाइ छ ।


सम्बन्धित समाचार