Logo

२५ माघ,जनकपुर । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार र कुशासनकै कारण आर्थिक समृद्धिले गति लिन नसकेको बताएका छन् ।

बर्दिबासमा बिहीबार आधारशीलाको २१ औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै गृहमन्त्री श्रेष्ठले आर्थिक समृद्धिलाई आधार बनाएर सरकारले काम गरिरहेको बताए ।

उनले भ्रष्टाचारलाई प्रभावकारी ढंगले नियन्त्रण नगरे विकास र समृद्धिको परिकल्पना गर्न नसकिने बताउँदै गृहमन्त्री श्रेष्ठले सरकारले यसका लागि क्रमिकरुपमा नतिजासमेत देखाइरहेको दाबी गरे । उनले भने– ‘गृहमन्त्रालय सम्हालेकै दिन पञ्चायतकालदेखि खाइपाई आइरहेको गृहमन्त्रीको सेवासुविधा पनि खारेज गरेँ, उनले अघि थप्दैँ भने– ‘शरणार्थी प्रकरणदेखि बाँसबारी छालाजुत्तासम्म आइपुग्दा सरकारले अडिग भएर निर्धक्कतापूर्वक काम गरिरहेको छ ।’

जनताले सरकारलाई बेलाबखत खबरदारी गरिरहेकै कारण सरकारमा आत्मबल सञ्चार भएको हुनाले पैसावाला, राजनीतिमा पहुँच भएकाहरूले सरकारको कामको विरुद्ध खबरदारी गर्ने गरेको उनको भनाई थियो ।

उनले सामन्तवादको निकृष्ट सोचकै कारण मिटरव्याजी मौलाएको र यसलाई नियन्त्रण गर्न सरकार दृढतापूर्वक लागिपरेको बताए ।

गृहमन्त्री श्रेष्ठले ५ हजारभन्दा बढी पिडितहरुलाई अहिलेसम्म न्याय दिलाईसकेको बताउँदै सुशासन स्थापनामा सरकारले अभियान नै बनाएको बताए ।
उनले अहिले मिटरव्याजी पीडितहरुले गरेको आन्दोलनप्रति संकेत गर्दै गृहमन्त्री श्रेष्ठले आन्दोलनले सरकारलाई सहयोग भएतापनि गलत ढंगले त्यसलाई प्रयोग गर्न नहुने सुझाए ।


सम्बन्धित समाचार