Logo

२७ माघ,नेपालगन्ज । पश्चिम नेपालबाट पूर्वको जनकपुरमा रहेको जानकी मन्दिर दर्शन गर्न जाने र जनकपुरबाट भारतको अयोध्यास्थित राम मन्दिर दर्शन गर्न जाने यात्रुको सुविधालाई ध्यानमा राखेर नेपालगन्ज–जनकपुर हवाई उडानको पहल सुरु गरिएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टको अध्यक्षतामा यस क्षेत्रका पर्यटन व्यवसायी र अन्य सरोकारवालाको उपस्थितिमा बसेको बैठकले नेपालगन्ज–जनकपुर उडानका लागि नेपालका हवाई सेवाप्रदायक कम्पनीलाई अनुरोध गर्ने निर्णय गरेको पर्यटन प्रवर्द्धन मञ्च बाँकेका संयोजक कृष्ण प्रसाद श्रेष्ठले बताउनुभयो ।

उहाँले नेपालगन्ज–जनकपुर हवाई उडान सुरु गराउन सकिएमा नेपालगन्जमा भारतीय धार्मिक पर्यटकसँगै पूर्वी नेपालका धार्मिक पर्यटकको पनि आवागमन ठुलो सङ्ख्यामा हुने हुँदा यस क्षेत्रको आर्थिक विकासमा टेवा मिल्ने बताउनुभयो ।

उहाँले धार्मिक पर्यटनको सम्भावना सबैभन्दा बढी रहेकाले नेपालगन्ज–जनकपुर उडानका लागि ठोस पहल गर्ने निर्णय बैठकमा भएको जानकारी दिनुभयो ।

नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले नेपालगन्ज–जनकपुर हवाई उडानका बारेमा धेरै पहिलेदेखिनै योजना बनाइरहेकोमा अहिले अयोध्यामा राम मन्दिर निर्माण भएसँगै यसको आवश्यकता अति नै बढेको बताउनुभयो ।

बैठकमा सहभागी हुनुभएका अध्यक्ष सिग्देलले यो उडानले पश्चिम तराईलाई पूर्वी तराईसँग जोड्नुका साथै भारतीय पर्यटकलाई नेपाल भित्र्याउन सहज हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘यो उडानले जनकपुर, नेपालगन्ज र भारतको अयोध्या जोड्न ठुलो मद्दत गर्नेछ, यसले धार्मिक पर्यटनका लागि नयाँ गन्तव्य निर्माण गरेर अगाडि बढ्ने देखिन्छ ।’’

सोही प्रकारले उक्त बैठकले नेपालगन्जमा आयोजना गरिने वेष्टर्न ट्राभल मार्टका बारेमा पनि छलफल गरेको पर्यटन प्रवर्द्धन मञ्च बाँकेका संयोजक श्रेष्ठले बताउनुभयो ।

बैठकले ट्राभल मार्टकालागि पर्यटन बोर्डले विनियोजन गरेको रकमलाई नेपालगन्ज उपमहानगरपालिकाको कोषमा जम्मा गर्न अनुरोध गर्ने निर्णय गरेको संयोजक श्रेष्ठले बताउनुभयो ।

आगामी चैतमा ट्राभल मार्ट आयोजना गर्ने तयारी भइरहेको जानकारी दिँदै त्यसका लागि बोर्डले विनियोजन गरेको बजेट नेपालगन्ज उपमहानगरपालिकाको कोषमा जम्मा गर्न अनुरोध गर्ने निर्णय गरेर सो को तयारी पनि अगाडि बढाइएको नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले बताउनुभयो ।


सम्बन्धित समाचार