Logo

२९ माघ,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्री प्रचण्डले संविधानको धारा २६६ को उपधारा ३ बमोजिम राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो ।

प्रतिवेदन बुझेपछि सो समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले मुलुकको राष्ट्रियता, सार्वभौमसत्ता, स्वतन्त्रता, अखण्डता र राष्ट्रिय सुरक्षालगायतका संवेदनशील कार्यमा राष्ट्रिय सुरक्षा परिषद् सधैँ चनाखो रही कार्य सम्पन्न गर्न दृढ रहनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

उहाँंले मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधिनताको संरक्षण गर्दै राष्ट्रिय एकताको प्रवर्द्धन गर्न, विभिन्न जातजाती, धर्म, भाषा, संस्कृति र सम्प्रदायबिच पारस्परिक सद्भाव, सहिष्णुता र ऐक्यवद्धता कायम गरी सङ्घीय इकाइबिच परस्परमा सहयोगात्मक सम्बन्ध विकास गर्न, राष्ट्रिय सुरक्षा प्रणालीको विकास गरी शान्ति सुव्यवस्था कायम गर्न एवम् सर्वाङ्गीण मानवीय सुरक्षाको प्रत्याभूति कायम गर्न राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयन गर्न आवश्यक छ रहेको पनि स्पष्ट पार्नुभयो ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २६६ को उपधारा (१) बमोजिम व्यवस्था भएको राष्ट्रिय सुरक्षा परिषद्ले मुलुकको राष्ट्रियता, सार्वभौमसत्ता, स्वतन्त्रता, अखण्डता र सुरक्षालगायतका संवेदनशील कार्यमा आफ्नो रणनीतिक दृष्टिकोणसहित ठोस सुझावहरू प्रस्तुत गरेकोमा खुसी प्रकट गर्नुभयो ।

नेपालको संविधानको धारा २६६को उपधारा ३ मा राष्ट्रिय सुरक्षा परिषद्ले परिषद्ले गरेको काम कारवाहीको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्नुपर्ने व्यवस्था छ । सो समारोहमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री प्रकाशशरण महतलगायत परिषद् सदस्यहरूको उपस्थिति थियो ।


सम्बन्धित समाचार