Logo

२९ माघ,वीरगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले जनलोकपालको व्यवस्था गर्न माग गरेका छन् ।

राप्रपा नेपालको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन बीरगञ्ज आइपुगेका अध्यक्ष थापाले यस्तो बताएका हुन् ।
उनका अनुसार पछिल्लो समय मुलुकमा भ्रष्टचार व्यापक बढ्दै गएको छ, तस्करी तन्त्रमा रुपान्तरित भएको छ ।

उनी भन्छन्,‘त्यसकारण यो भ्रष्ट तन्त्रको अन्त्यको लागि, देशभित्रको सबै समस्या अन्त्य गरी सुधारको अवस्थाको लागि जनलोकपाल व्यवस्थाको जरुरी छ । यो व्यवस्था लागू भए धेरै हदसम्म मुलुकमा देखिएका बेथितिको निराकरण हुन्छ ।’

राप्रपा नेपालले मुलुकमा देखिएको बेथितिविरुद्ध समाधान निकाल्नेसहित आन्दोलनको तयारीमा जुटेको अध्यक्ष थापा बताउँछन् ।

वर्तमान अवस्थामा राजनीतिक प्रणाली नै असफल देखिएको उनको भनाइ छ । देश आर्थिक, सामाजिक, सांस्कृतिरुपमा असफल हुँदै गइरहेको हुनाले अब राजनीतिक प्रणाली नै परिवर्तन गर्नुपर्ने बेला आएको उनको ठहर छ ।

राप्रपा अध्यक्ष थापाले राजनीतिक दलहरुप्रति कटाक्ष गर्दै अहिले मुलुकमा सबै काम राजनीतिक स्वार्थ अनुरुप भइरहेको आशय व्यक्त गरे ।
फरक प्रशंगमा कुरा गर्दै अध्यक्ष थापाले राजनीतिक दलहरुबाट पूर्वराजालाई बदनाम गराउने काम मात्र भइरहेको आरोप लगाए ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई चुनौती दिँदै भने,‘प्रधानमन्त्रीज्यूमा हिम्मत छ भने एकपटक उच्चस्तरी छानविन समिति गठन गरेर छानविन गराउँनुहोस, स्वतन्त्र र निष्पक्ष ढंगले ।

यहीबाट सबै कुराको निराकरण पनि निस्किन्छ । नत्रभने कसैको बदनाम गराउने काम नहोस ।’ उनका अनुसार अहिले रजानीतिक दलहरुबाट राज परिवारप्रति आरोप–प्रत्यारोप लगाउने काम मात्रै भइरहेको छ ।

पत्रकारसम्मेलनमा राप्रपा नेपालका नेता राजीव पराजुलीसहितका व्यक्तिहरुको सहभागिता थियो ।


सम्बन्धित समाचार