Logo

४ फागुन,वीरगञ्ज । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले आइतबार विश्वासको मत लिने भएका छन् । सरकारमा सहभागी सबै दलहरुको समर्थनमा मधेश सरकारले यही फागुन ६ गते विश्वासको मत लिने भएका हुन् ।

मुख्यमन्त्री यादवले यही आइतबार दिउँसो १ बजेदेखि विश्वासको मत लिने तयारी भएको सचिवालयले जनाएको छ । रेसखबरसँग कुरा गर्दै सचिवालयले भन्यो, ‘सरकारमा सहभागीमा सहभागी दलहरुसंग छलफल गरेर विश्वासको मत लिने समय तोकिएको छ, त्यसका लागि त्यही दिन विहान दलको बैठकमा बोलाइएको छ । अनि दिउँसो विश्वासको मत लिइन्छ ।’

सरकारमा सहभागी दलहरुमध्ये कसैले समर्थन फिर्ता लिएपछि विश्वासको मत लिने संवैधानिक प्रावधान छ । सोही व्यवस्था अनुसार मधेश सरकारले २७ औं दिनमा विश्वासको मत लिने प्रदेश सभाको कार्यालयले बताएको छ ।

१ सय ७ प्रदेश सभा सदस्यमध्ये बहुमतका लागि ५४ सदस्यको समर्थन चाहिन्छ ।
मधेश प्रदेश सभामा सबैभन्दा ठूलो दलको रुपमा रहेको नेकपा एमालेको २३ सिट, नेपाली काँग्रेसका २२ सिट र जनता समाजवादी पार्टी नेपालका १८ सीट रहेको छ ।

सभामा जनमत पार्टीको १३, लोकतान्त्रिक समाजवादी पार्टीको ९, नेकपा माओवादी केन्द्रको ९ र नेकपा एकीकृत समाजवादी पार्टीको ९ सिट रहेको छ ।
मधेश प्रदेश सरकारमा जसपा नेतृत्वमा नेपाली काँग्रेस, लोसपा, नेकपा माओवादी केन्द्र र नेकपा एस सरकारमा नै रहेका छन् । चार दल मिलाउँदा ६५ जनाको समर्थन देखिएको छ ।

मधेश सरकार गठन हुँदा समर्थन दिएको जनमत पार्टी ९ माघमा बाहिरिएको थियो । यही ९ फागुनभित्र विश्वासको मत लिइ सक्नुपर्ने कानुनी बाध्यता छ ।

 


सम्बन्धित समाचार