Logo

६ फागुन,वीरगञ्ज । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदैहुनुन्छ । उनले प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएपछि तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।

गत माघ ९ गते जनमत पार्टीका दुई मन्त्रीले मधेश सरकार छाड्दै विश्वासको मत पनि फिर्ता लिएपछि मुख्यमन्त्री यादवले आज विश्वासको मत लिन लाग्नुभएको हो । विश्वासको मत लिने प्रयोजनका लायिग आज दिउँसो २ बजे मधेश प्रदेश सभाको बैठक बोलाइएको प्रदेश सभा सचिवालयका निमित्त सचिव अरुण कुमार झाले जानकारी दिनुभयो ।

मुख्यमन्त्री यादवले आइतबार विश्वासको मत लिने भनेर मधेश प्रदेशसभा सचिवालयलाई गत बिहीबार नै पत्र पठाउनुभएको थियो । जसपाका यादव गत पुस २७ गते मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।

मधेशमा १०७ प्रदेश सभा सदस्यहरुमध्ये यादवले विश्वासको मत पाउन ५४ सदस्यको समर्थन आवश्यक छ । जसपासहित, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, लोसपा र एकीकृत समाजवादीको समर्थन रहेकाले उनी सहज अवस्थामा छन् ।

नेपाली कांग्रेसका २२, जसपाका १८, माओवादी केन्द्र र लोसपाका ९–९ र एकीकृत समाजवादीका ७ जना सांसद छन् । यी सबैले विश्वासको मत दिए भने मुख्यमन्त्रीको पक्षमा ६५ मत पुग्छ । मधेशको सबैभन्दा ठूलो दल नेकपा एमालेका २३ र जनमत पार्टीका १३ सांसद छन् ।

राप्रपा, नेपाल समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका १÷१ सांसद छन् । लोसपा संसदीय दलका नेता अभिराम शर्मा भने महोत्तरी जिल्ला अदालतबाट जन्मकैदको सजायँ पाएकाले निलम्बित छन् ।


सम्बन्धित समाचार