Logo

७ फागुन,काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक आजदेखि शुरू हुँदैछ।

सभापति शेरबहादुर देउवाले ललितपुरको गोदावरीस्थित सनराइज हलमा दिउँसो १ बजे महासमिति बैठक उद्घाटन गर्नेछन्। प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार ललितपुरको गोदावरीस्थित सनराइज हलमा महासमिति बैठक फागुन १० गतेसम्म चल्नेछ।

महासमितिमा सहभागी भएका सदस्यमध्ये कम्तीमा ६० प्रतिशतलाई बोल्न समय दिइने छ। बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक, प्रवक्तासमेत रहेका अर्थमन्त्री प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा तथा लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेश गर्नेछन्।

यी प्रस्तावहरूमाथि चार वटा समूह बनाएर छलफल गरिनेछ विश्वकर्माले बताए। समूहमा हिमाल, पहाड र तराईको प्रतिनिधित्व हुने गरी समूह बनाइनेछ।

महासमिति बैठकले कांग्रेसले लिने नीति तय गर्नेछ। महासमिति बैठकमा वर्तमान पदाधिकारी तथा केन्द्रीय सदस्यहरू १६५ जना, प्रतिनिधि सभा क्षेत्रबाट प्रतिनिधित्व हुने गरी महासमिति सदस्यहरू १ हजार सात सय ८० जना, नेपाली जनसम्पर्क समितिबाट ८९ जना, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट ६९ जना, महासमिति सदस्य नरहेका जिल्ला सभापति ४६ जना सहभागी हुने छन्।

महासमिति बैठकका लागि विधानअनुसार प्रत्येक संघीय निर्वाचन क्षेत्रबाट ११ जनाका दरले प्रतिनिधि आउँछन्। महासमिति सदस्यले केन्द्रीय कार्यालय सानेपामा फोटो र तीन हजार रुपैयाँ बुझाएर प्रवेश पत्र लिनुपर्ने हुन्छ। महासमिति बैठकमा उपस्थित हुनेहरूलाई कांग्रेसले खाना र खाजाको व्यवस्था गरे पनि आवासको व्यवस्थापन गरेको छैन।

२०७८ मंसिरमा १४ औं महाधिवेशन गर्दा कांग्रेसले नीति अधिवेशन गरेको थिएन। नीति अधिवेशनको समेत काम गर्ने गरी अहिले महासमिति बैठक गर्न लागिएको हो। विधानअनुसार महाधिवेशन भएको वर्षबाहेक वर्षेनी महासमिति बैठक गर्नुपर्ने व्यवस्था छ।

इतर समूहको छुट्टै रणनीति

बैठकमा निर्वाचनमा गठबन्धन गर्ने अभ्यासको तीव्र हुने देखिएको छ। इतर पक्षले निर्वाचनपूर्व गठबन्धन गर्ने अभ्यासको कडा रुपमा आलोचना गर्ने रणनीति लिएको छ। महासमिति बैठकको पूर्वसन्ध्यामा आयोजित एक भेलामा इतर पक्षका नेताहरु निर्वाचनअघिको गठबन्धन संस्कृति अन्त्यका विषयमा एकजुट देखिएका छन्।

इतरपक्षका नेता शेखर कोइरालाले महासमिति सदस्यहरुलाई संस्थापन पक्षसँग दवावमा नपरी आफ्ना भनाइ निर्धक्कसँग राख्न आग्रह गरेका छन्। उनले महामन्त्री द्वय गगन थापा र विश्व प्रकाश शर्माले पेश गर्न तयार पारेको प्रतिवेदनमा गठबन्धनको छायाँ देखिएको र कांग्रेसको मौलिकता मास्न खोजिएको आरोप पनि लगाएका छन्।

कोइरालाले आगामी निर्वाचनमा गठबन्धन नगर्ने निर्णय महासमिति बैठकबाटै होस् भन्ने चाहना छ भने इतरपक्षका अरु नेताको मत पनि यही नै छ।

हिन्दु राष्ट्रको बहस

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा २२ जना केन्द्रीय सदस्यले सनातन हिन्दू राष्ट्र हुनुपर्नेमा आफ्नो एजेन्डासहित पूरक प्रस्ताव पेस गरे।

शंकर भण्डारीको नेतृत्वमा भएको सो हस्ताक्षरसहितको पूरक प्रस्तावमा पुष्पा भुसाल, देवेन्द्रराज कँडेल, प्रकाश रसाइली स्नेही, विद्या तिमल्सिना, गेहेन्द्र गिरी, रंगमती शाही, सीता देवकोटा, सीताकुमारी, दिलेन्द्रप्रसाद बडु, डा. डिला संग्रौला, शारदा पौडेल र अर्जनुबहादुर सिंहले हस्ताक्षर गरेका छन्।

हस्ताक्षर गर्नेमा चम्पादेवी खड्का, नागिना यादव, नृपबहादुर वड, सञ्जय गौतम, भीम पराजुली, दिनेश कोइराला र मुक्ताकुमारी यादव पनि छन्। प्रस्तावमा हस्ताक्षर गर्ने प्रदेश सभापतिहरूमा बाग्मतीका इन्द्रबहादुर बानियाँ र गण्डकीका शुक्रराज शर्मासमेत छन्।

उनीहरूले वैदिक सनातन हिन्दु राष्ट्र कायम गर्न त्रिवेणी धाम र काठमाडौंमा भएको महासमिति बैठकका बहुमत महासमिति सदस्यले प्रस्ताव राखेको पनि नेतृत्वलाई सम्झाएका छन्।

सनातन हिन्दु नेपाल स्थापना महाअभियानका संयोजक रहेका भण्डारीले आफ्नो कुरा राखेर सभापति शेरबहादुर देउवालाई पूरक प्रस्ताव बुझाएका छन्। भण्डारीसहित २२ केन्द्रीय सदस्यले बुझाएको प्रस्ताव भने सभापति देउवाले चुपचाप छन्। यसमा देउवाले मौन समर्थन गरेको देखिन्छ। कांग्रेस बैठकमा धर्म निरपेक्ष खारेज हुनुपर्छ भनेर यसपटक मात्रै होइन यसअघि पनि आवाज उठ्दै आएको हो।

महासमिति बैठकमा सनातन हिन्दू धर्मको विषय बलियो गरेर उठाउन शनिबार नयाँ बानेश्वरको बानेश्वर ब्यांक्वटेमा हिन्दु राष्ट्रको पक्षमा महाअभियान कार्यक्रम घोषणा नै गरियो। महासमिति बैठक (नीति अधिवेशन)मार्फत ‘धर्म निरपेक्षता’लाई छोडेर कांग्रेसले ‘हिन्दु राष्ट्र’को मुद्दा औपचारिक रूपमै अँगाल्नुपर्ने भन्दै उनीहरुको जोड छ।


सम्बन्धित समाचार