Logo

७ फागुन, काठमाडौं । सुनको कोटा दुरुपयोग गरी अवैध कारोवारमा संघका पदाधिकारी संलग्न भएको समाचार बाहिर पछि नेपाल रत्न तथा आभुषण संघमा खैलाबैला मच्चिएको छ । साना व्यापारीको सुन कब्जागरी अवैध धन्दामा लागेका संघका पदाधिकारीको पोल खुलेपछि संघ भित्र कम्पन पैदा भएको हो ।

नेपाल रत्न तथा आभुषण संघ काठमाडौंका बरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्ताले संघ भित्रको बेथिति सार्वजनिक गरेका थिए । आभुषण संघ भित्र एकदशक देखि मौलाएको सुनको अवैध कारोवार र यसमा संलग्न पदाधिकारीको नाम सार्वजनिक हुनथालेपछि संघको आकस्मिक बैठक आज बोलाइएको छ ।

रत्न तथा आभुषण संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्ताले संघका पदाधिकारी र सदस्यहरु रहेको ह्वाटसएप ग्रुपमा संघका अध्यक्ष लगायत जिम्मेवार पदाधिकारी सुनको अवैध कारोवारमा संलग्न रहेको भन्दै प्रश्न उठाएका थिए । पहेलो सुन भित्र लुकेको कालो धन्दा र यसमा संलग्न व्यापारीमाथि गृह मन्त्रालय र सिआइवीले समेत चासो देखाएपछि संघका पदाधिकारीको गोप्य बैठक बस्न थालेको छ ।

रत्न तथा आभुषण संघले हिजो दिनको २.३० बजे आकस्मीक बैठक बोलाएको थियो । तर आभुषण महासंघका केन्द्रीय अध्यक्ष सुरेशमान श्रेष्ठले आन्तरिक छलफल गरेर मात्रै संघको बैठक बोलाउन भनेपछि हिजोको बैठक आज (सोमबार)लाई सारिएको हो । बैठकमा आभुषण संघको नाम दुरुपयोग गरेर मिडियाबाजी गरेको बिषयमा छलफल गर्ने भनेर एउटा मात्र एजेण्डा तय गरिएको छ ।

संघका वरिष्ठ उपाध्यक्ष गुप्ताले एकदशक देखि सुनको नाउँमा भएको कालो धन्दाको पोल खोल्न थालेपछि उनलाई कार्वाही गर्ने उदेश्यले बैठक राखिएको स्रोतले जनाएको छ । गुप्ता काम विशेषले नेपाल बाहिर रहेको अवस्थामा आकस्मीक बैठक राखी उनलाई बरिष्ठ उपाध्यक्ष पदबाट हटाउन खोजिएको हो ।

संघका केही पदाधिकारीले संचालन गर्दै आएको अवैध कारोवारको बारेमा सरकारको संयन्त्रलाई जानकारी दिने र यस बिषयमा छानविन गरी कार्वाही गर्न सरकारसँग माग गर्ने योजनामा रहेका गुप्तालाई पदबाट हटाउन आजको बैठकको मुख्य एजेण्डा रहेको एक सदस्यले रेसखवरलाई बताए ।

नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको संचितिमा समस्या देखाउदै सुन आयातमा कोटा प्रणाली लगाएपछि सोही कोटाको फाइदा उठाउँदै संघ तथा महासंघका पदाधिकारीले भरिया मार्फत भारत तर्फ सुनको अवैध धन्दा संचालन गर्दै आइरहेको आरोप संघका सदस्यहरुको छ ।

आजको बैठकमा संघका पदाधिकारीलाई सरकारी निकायबाट हुन सक्ने सोधपुछ र संभावित कार्वाहीबाट कसरी जोगिन सकिन्छ भनेर हिजो कोर टिममा भएको छलफलको निष्कर्ष समेत राखिने एक पदाधिकारीले बताए । हिजो संघका केही पदाधिकारीको गोप्य बैठक बसेर अव कसरी अगाडी बढने भन्ने बिषयमा छलफल भएको थियो ।

केही पदाधिकारीले भने नेपाल बाहिर रहेका बरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्ताको उपस्थिती नभएको अवस्थामा बैठकबाट हटाउदा कानूनी समस्या आउने भन्दै अहिले गुप्तासँग स्पष्टिकरण मात्र लिने र अर्को बैठकमा हटाउन सुझाव दिएको एक सदस्यले बताए ।

सरकारी संयन्त्रले बाणिज्य बैंकमा स्टक रहेको सुन कुन कम्पनीले खदिर गरेको र त्यसको विक्रि कुन व्यवसायीलाई गरिएको छ भन्ने यकिन विवरण लियोभने कार्वाहीको भागिदार हुनुपर्ने हो कि भन्ने भय अवैध कारोवारमा संलग्न व्यवसायीहरुको छ । बरिष्ठ उपाध्यक्ष गुप्ताले उठाएको बिषयमा सरकारले छानविन गर्न सक्ने र त्यसलाई कसरी निस्तेज पार्न सकिन्छ भन्ने योजनामा संघका पदाधिकारी लागेको एक सदस्यले बताए ।


सम्बन्धित समाचार