Logo

८ फागुन, काठमाडौं । नेपाल रत्न तथा आभुषण संघ काठमाडौंका बरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्ताले सुनको अवैध कारोवारमा संलग्न रहेको भन्दै रत्न तथा आभुषण संघ काठमाडौंका अध्यक्षको राजीनामा माग गरेका छन् ।

बरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्ताले सामाजीक सञ्जाल फेसबुकमा खुद्रा व्यवसायीको कोटा दुरुपयोग गरी साना व्यापारीको सुन कब्जा गरेर अवैध कारोवार लागेको भन्दै संघका अध्यक्ष सुमन ताम्राकारको राजीनामा माग गरेका हुन ।

संघका अध्यक्ष सुमन ताम्राकार र उनका पाटर्नर निर्मल तुलाधरलाई सुनको अवैध कारोवारमा विगत लामो समय देखि संलग्न रहेकोले उनीहरुको कारोवार तथा सम्पती छानविन गर्नुपर्ने र कानूनी कार्वाही गर्नुपर्ने माग वरिष्ठ उपाध्यक्ष गुप्ताको छ ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाट्स लेखेर गुप्ताले जिल्लाका व्यवसायीले पाउनु पर्ने सुनको कोटा दुरुपयोग गर्ने संघका अध्यक्ष ताम्राकार र उनका पाटर्नर निर्मल तुलाधरलाई राज्यले कार्वाही गर्नुपर्छ । उनीहरुको कारोवार र सम्पती समेत छानविन गर्नुपर्छ ।

साना तथा खुद्रा व्यवसायीको हितमा कुरा उठाउदा आफूलाई संघको वरिष्ठ उपाध्यक्षबाट राजीनामा दिन धम्की दिइएको भन्दै गुप्ताले गैर कानूनी रुपमा सुनको कोटा दुरुपयोग गरेको कारण संघका अध्यक्ष सुमन ताम्राकारले नै नैतिकताको आधारमा राजीनामा दिनु पर्ने माग राखेका छन् ।

देशमा विदेशी मुद्राको संचितिमा समस्या देखाउदै सरकारले सुन आयातमा कोटा प्रणाली लगाएको छ । कोटा प्रणाली लगाउदा त्यसको प्रत्यक्ष मार साना तथा खुद्रा व्यवसायीलाई पर्ने भएकोले तत्काल कोटा प्रणाली खारेज गर्न वरिष्ठ उपाध्यक्ष गुप्ताले सरकारसँग माग गरेका छन् ।

सुनको आयातमा कोटा प्रणाली लगउनु र सुनको कारोवार गर्ने व्यापारीहरुको संस्थालाई सुनको मूल्य निर्धारणको अधिकार दिदाँ संघका केही पदाधिकारीले अधिकारको दुरुपयोग गर्दै मुलुकमा सुनको अवैध कारोवारको धन्दा बढेको गुप्ताको भनाई छ । अव सुनमा लगाइएको कोटा हटाएर सुनको मूल्य निर्धारण गर्ने जिम्मा नेपाल राष्ट्र बैंकलाई दिनु पर्ने गुप्ताको माग छ ।

गुप्ताले सामाजिक सञ्जालमा राज्यका निकायलाई सुनको अवैध कारोवारमा संलग्न संघका पदाधिकारीमाथि अनुसन्धान गरी कानूनको कठघारामा उभ्याउन सार्वजनिक रुपमा अपिल गरेका छन् । उनले सुनको अवैध कारोवारका वारेमा राज्यका निकायले अनुसन्धान गर्न सहयोग मागेमा आफूले सघाउने बताए ।

आभुषण संघको बैठकमा हंगमा

नेपाल रत्न तथा आभुषण संघको सोमबार दिउँसो बसेको कार्यसमितिको छैठौं बैठकमा संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्ताले उठाएको प्रश्नको जवाफ दिने की उनलाई कार्वाही गर्ने भन्ने बिषयमा संघका पदाधिकारी विच विवाद भएको छ ।

संघका अध्यक्ष सुमन ताम्रकारले संघ भित्रको गोप्य कुरा मिडियामा सार्वजनिक गरेको भन्दै वरिष्ठ उपाध्यक्ष गुप्तालाई तत्काल कार्वाही गरी संघबाट हटाउनु पर्ने प्रस्ताव राखेका थिए । उनको प्रस्तावमा केही पदाधिकारीले समर्थन जनाएपनि केही सदस्यहरुले उनलाई देश बाहिर रहेको अवस्थामा स्पष्टीकरण नसोधी कार्वाही गर्दा कानूनी जटीलता उत्पन्न हुन सक्ने भन्दै अध्यक्षलाई आवेगमा निर्णय नलिन आग्रह गरेका थिए ।

बैठकमा केही सदस्यहरुले स्टकमा रहेको सुन कुन कम्पनीले कति उठाएको र त्यसको वितरण कसरी गरिएको हो भन्ने बारेमा सदस्यहरुलाई जानकारी गराउनुपर्ने माग केही सदस्यहरुले गरेका थिए । सदस्यहरुले उठाएको सवालमा अध्यक्ष ताम्रकारले स्टकको सुनको विवाद भन्दा पनि वरिष्ठ उपाध्यक्षको बिषयमा मात्र छलफल गर्न सदस्यलाई आग्रह गरेको एक सदस्यले बताए ।

नेपाल रत्न तथा आभुषण संघ काठमाडौंका महासचिव जयराम पाण्डेयका अनुसार वरिष्ठ उपाध्यक्ष नेपाल बाहिर रहेकोले बैठकले कुनै निर्णय नलिएको बताए । वरिष्ठ उपाध्यक्ष गुप्ता नेपाल आएपछि स्पष्टिकरण सोधिने र चित्तबुझ्दो जवाफ नदिए कार्वाही गर्ने निर्णय भएको महासचिव पाण्डेयले बताए ।

आभुषण संघको विधान अनुसार गुप्ता संस्थाको अव हुने अध्यक्ष भएकोले जिम्मेवारी रुपमा सार्वजनिक मंचमा भनाई राख्न एकपटकलाई सचेत गराउनु पर्ने तर कार्वाहीमा जान नहुने अधिकांश सदस्यहरुले सुझाव दिएको बैठकमा सहभागी एक सदस्यले रेसखवरलाई बताए ।

 


सम्बन्धित समाचार