Logo

८ फागुन, काठमाडौं । नेपाल रत्न तथा आभुषण संघ काठमाडौंका बरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्तालाई जिम्मेवारीबाट हटाउन संघले प्रकृया थालेको छ । सुनको अवैध कारोवारमा संलग्न रहेको भन्दै नेपाल रत्न तथा आभुषण संघ काठमाडौंका अध्यक्षको राजीनामा मागेपछि उनलाई कानूनी प्रकृया पुरा गरेर जिम्मेवारीबाट हटाउन खोजिएको हो ।

संघको आज काठमाडौं स्थित नयाँसडकमा बसेको आकस्मिक ७ औं बैठकले वरिष्ठ उपाध्यक्ष गुप्तासँग स्पष्टिकरण लिने र चित्तबुझ्दो जवाफ नआए पदाधिकारीबाट हटाउने निर्णय गरेको संघका महासचिव जयराम पाण्डेयले बताए ।

रत्न तथा आभुषण संघ काठमाडौंका अध्यक्ष सुमनमान ताम्रकारले बरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्तालाई पत्रलेखि शुक्रबार दिनको २.३० बस्ने संघको आठौं बैठकमा उपस्थित भएर स्पष्टिकरण दिन भनेका छन् । वरिष्ठ उपाध्यक्ष गुप्ता काम विशेषले नेपाल बाहिर रहेकोले उक्त पत्र गुप्ताको कम्पनीमा बुझाउन खोजिएको तर कर्मचारीले लिन नमानेको भनेर संघको ह्वाट्सएप ग्रुपमा तीन वटा पत्र राखिएको छ ।

संघका बरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्ताको नामका काटीएको उक्त पत्रमा संघको कार्यसमितिको जिम्मेवार पदाधिकारी भएर सामाजीक सञ्जाल फेसबुकमा आफ्नै पदीय जिम्मेवारी र मर्यादा प्रतिकुल हुनेगरी अशोभनीय अभिब्यक्ति दिएको भन्दै कार्यसमितिको आठौं बैठकमा मर्यादित रुपमा स्पष्टिकरण दिन भनिएको छ ।

संघको जिम्मेवार पदाधिकारीबाट सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिले हजारौं आभुषण व्यवसायीकको व्यावसायिक भविश्य माथि गम्भिर संकट उत्पन्न हुने अवस्था देखिएकोले कठोर पत्र लेख्न बाध्य भएको कुरा पत्रमा उल्लेख गरिएको छ ।

संघका अध्यक्ष ताम्रकारको नाउँबाट प्रेषित पत्रमा जिम्मेवार पदाधिकारीले बैठक लगायतका ठाउँमा मर्यादित रुपमा आफ्ना भनाई राख्न पाउँने अवसर हुदा हुर्दै सामाजिक सञ्जालमा संघका साथै विभिन्न निकायका उच्च पदाधिकारीहरुको नाम जोडेर अराजक र लान्छानायुक्त अभिव्यक्ति दिएको प्रति संघको गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

पत्रमा संघको नयाँ सडक स्थित कार्यालयमा शुक्रबार बस्ने बैठकमा उपस्थित भई मर्यादित रुपमा आफ्नो कुरा राख्न भनिएको छ । यदी तोकेको समयमा उपस्थित नभएमा कानून बमोजिम कार्वाही गरिने पत्रमा उल्लेख गरिएको छ ।

अवैध कारोवारमा लागेका विरुद्ध किटानी जाहेरी दिने गुप्ताको तयारी

नेपाल रत्न तथा आभुषण संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्ताले साना व्यवसायीको कोटाको सुन दुरुपयोग गरी सुनको अवैध कारोवारमा संलग्न रहेका संघका पदाधिकारी र अन्य व्यापारी विरुद्ध प्रहरीमा किटानी जाहेरी दिने बताएका छन् ।

आफू विगत १५ बर्ष देखि यो पेशामा रहेर साना तथा खुद्रा व्यापारीको पक्षमा वकाल गर्दै आएको र संघका हरेक बैठकमा पटक पटक सुनको दररेट तोक्ने र कोटा वितरण गर्ने विषयमा साना व्यवसायीलाई मर्का नपर्नेगरी निर्णय लिन आग्रह गरेको गुप्ताको भनाई छ ।

खुद्रा तथा साना व्यवसायीको पक्षमा वकालत गर्दा आफ्नो कुरा सुनुवाई नभएको र जिल्लाका व्यापारीले पाउँनुपर्ने सुन स्टकमा राखेर आफ्ना भरियाको नाउँमा खुलेका कम्पनी मार्फत एकैचोटी खरिद गरी अवैध कारोवार गर्दै आइरहेका पदाधिकारी र व्यापारीको विरुद आफूले आवाज उठाउदै आएको गुप्ताको भनाई छ ।

आफूले रत्न तथा आभुषण व्यापारमा संलग्न बहुसंख्यक व्यापारीको पक्षमा आवाज उठाउदा कतै सुनुवाई नभएपछि वाध्य भएर सामाजिक सञ्जाल र संचार माध्यम मार्फत सार्वजनिक गर्नुपरेको गुप्ताको भनाई छ । संघका अध्यक्ष सहति जिम्मेवार पदाधिकारीको कारण आभुषण व्यवसायमा संलग्न व्यापारीहरु संकटमा पारेको गुप्ताको आरोप छ ।

संघका पदाधिकारीले गरेको वेतिथिका बारेमा जानकारी गराउदा आफूलाई विभिन्न अपरिचित व्यक्ति मार्फत ज्यान मार्ने धम्की समेत आएको गुप्ताले बताए । म अहिले भारतमा छु यहाँ रहदा समेत विभिन्न व्यक्तिहरुले मलाई ज्यान मार्ने धम्की दिइरहेका छन, गुप्ताले रेसखवरलाई भने ।

व्यक्तिगत काम विशेषले भारत आएपनि यही शुक्रबार साँझ ४.५० बजेको नेपाल एयरलाइन्सको दिल्ली काठमाडौं उडानबाट नेपाल आउने सेडुल रहेको गुप्ताले जानकारी दिए । साना व्यापारीको कोटा लिएर अवैध कारोवारको धन्दामा लागेका व्यापारीको वारेमा किटानी जाहेरी सहित सरकारी निकायमा उजुरी दिने तयारीमा रहेको गुप्ताको भनाई छ ।

सरकारी निकायले सुनको कारोवारमा संलग्नहरुको ५ बर्षको कारोवार, बैक स्टेटमेन्ट, खरिद र विक्रि खाता जाँच गरेको खण्डमा संघका वर्तमान र पूर्व जिम्मेवार पदाधिकारीको अवैध धन्दाको पोल खुल्ने संघका वरिष्ठ उपाध्यक्ष गुप्ताको भनाई छ ।


सम्बन्धित समाचार