Logo

९ फागुन,वीरगञ्ज । प्रदेश संरचनाको खारेजी, भ्रष्टाचारीलाई कारवाहीको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पर्साले बुधबार ज्ञापन पत्र बुझाएको छ । राप्रपा पर्साले पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालमार्फत प्रधानमन्त्री कार्यालयलाई ४० बुँदे ज्ञापन पत्र बुझाएको हो ।

राप्रपाका पर्सा अध्यक्ष सुमेश्वर नाथ उपाध्याय, प्रतिनिधि सभा सदस्य बिना जैसवाल, उपाध्यक्ष जगरनाथ प्रसाद कुर्मी, पार्टीका अनिल कुशवाहा लगायत नेता कार्यकर्ताहरुको टोलीले प्रजिअ भुसालमार्फत प्रधानमन्त्रीको कार्यालयलाई ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापनपत्र मार्फत जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, कार्यकारी पदहरुमा एक ब्यक्ति दुई कार्यकाल भन्दा बढी बस्न नपाउने संवैधानिक÷कानुनी व्यवस्था, जनप्रतिनिधिहरुको सङख्या तथा आवश्यकता भन्दा बढी सरकारी वेतनधारीको सँख्यामा कटौति, संवैधानिक निकायहरुको नियुक्तिमा राजनितिक भागवण्डा हाबी नहुने संवैैधानिक सुनिश्चितता लगायतका ४० बुँदे मागहरु गरिएको छ ।

यस्तै सहकारी र लघुवित्तको प्रभावकारी नियमन गर्दै बचतकर्ताको बचत सुरक्षाको ग्यारेन्टी, जनताको बचत हिनामिना गर्नेलाई कडा दण्ड सजाय तथा राज्यबाट निक्षेपकर्ताको दायित्व बहन, सुकुम्बासी समस्या सदाका लागि समाधान गर्नुपर्ने, साना ठुला उधोगधन्दाको व्यापक बिकास तथा रोजगारी सिर्जनाका लागि उद्यमी, ब्यावसायीहरुले भोग्नुपर्ने झन्झटिलो सरकारी प्रणालीमा सुधार, बिकास अवरोधी देखिएको सार्बजनिक खरिद तथा वन ऐनमा संशोधन लगायतका मागहरु समेत राप्रपाले ज्ञापनपत्रमा समेटेको छ ।


सम्बन्धित समाचार