Logo

१० फागुन,वीरगञ्ज । चालू आर्थिक वर्षको माघ मसान्तसम्म (७ महिना) मा ९ खर्ब ८४ अर्ब ७७ बराबरको कूल वैदेशिक व्यापार भएको केन्द्रीय भन्सार विभागको तथ्यांकमा छ। जसमध्ये ८ खर्ब ९७ अर्ब ९४ करोड बराबरको वस्तु आयात भएको छ भने ८६ अर्ब ८३ करोड बराबरको वस्तु निर्यात भएको छ।

प्रतिशतका हिसाबमा भन्ने हो भने ९१.१८ प्रतिशत आयात हुँदा ८.८२ प्रतिशतको वस्तु निर्यात भएको छ। जसअनुसार चालू आर्थिक वर्षको ७ महिनामा देशको व्यापार घाटा ८ खर्ब ११ अर्ब ११ करोड नाघेको विभागले जनाएको छ। गतवर्षको तुलनामा कूल वैदेशिक व्यापार २.७५ प्रतिशतले घटेको छ। यस्तै गत वर्षको तुलनामा आयात निर्यातमा पनि गिरावट आएको छ। गत वर्षको तुलनामा चालू आर्थिक वर्षमा आयातमा २.३१ प्रतिशतले गिरावट आएको छ भने निर्यातपमा ७.०७ प्रतिशतले गिरावट आएको छ।

गतवर्ष सोही अवधिमा १० खर्ब १२ अर्ब ५९ करोड बराबरको वैदेशिक व्यापार भएको थियो। जसमध्ये गत वर्षको माघ मसान्तसम्ममा ९ खर्ब १९ अर्ब १६ करोड रुपैयाँको वस्तु आयात भएको थियो भने ९३ अर्ब ४३ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो।

प्रतिशतका हिसाबमा भन्ने हो भने गत वर्षको ७ महिनामा ९०.७७ प्रतिशतको आयात हुँदा ९.२३ प्रतिशत आयात भएको थियो। यस्तै गतवर्ष देशको व्यापार घाटा ८ खर्ब २५ अर्ब ७३ करोड रुपैयाँ बराबर रहेको थियो।
पेट्रोलियम पदार्थ आयात घट्यो
चालू आर्थिक वर्षको ७ महिनामा झण्डै दुई खर्बको पेट्रोलियम पदार्थ आयात भएको छ। माघ मसान्तसम्ममा १ खर्ब ८४ अर्ब ९३ करोड ८७ लाख २९ हजार रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ।

तर, गत वर्षको तुलनामा पेट्रोलियम पदार्थको आयात १० खर्ब २ करोड ४७ लाख १० हजार रुपैयाँले घटेको छ। गतवर्षको यसै अवधिमा १ खर्ब ९४ अर्ब ९६ करोड ३४ लाख ३९ हजार रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ। सरकारले विद्युतीय सवारी साधन आयातलाई प्रोत्साहन गर्दा विद्युतीय सवारी साधनको प्रयोग बढ्दो छ। जसका कारण पेट्रोलियम पदार्थ आयातमा सामान्य गिरावट आएको छ।

यस्तै ७ महिनाको अवधिमा ८८ अर्ब रुपैयाँ बराबरको फलाम तथा फलामजन्य वस्तु आयात भएको छ। ६० अर्ब ८४ करोड बराबरको विद्युतीय उपकरण आयात भएको छ। ५७ अर्ब ३९ करोड रुपैयाँ बराबरको बोइलिङ मेशिन आयात भएको छ।४२ अर्ब ५४ करोड रुपैयाँ बराबरको सवारी साधनको पार्टपुर्जा आयात भएको छ।

३२ अर्ब रुपैयाँको आयो फलफूल र तरकारी
चालू आर्थिक वर्षको ७ महिनामा ३२ अर्ब रुपैयाँ बराबरको फलफूल र तरकारी आयात भएको छ। जसमध्ये १९ अर्ब ५० करोड रुपैयाँ बढीको तरकारी आयात भएको छ भने १२ अर्ब ४० करोड रुपैयाँ बराबरको फलफूल आयात भएको छ।

३३ अर्ब रुपैयाँ बराबरको प्लाष्टिक तथा प्लाष्टिकजन्य वस्तु आयात भएको छ। २८ अर्ब २१ करोड बराबरको मोति आयात भएको छ। २९ अर्ब २७ करोड बराबरको तेलघ्यूजन्यवस्तु आयात भएको छ।

१० अर्बको फलाम ८ अर्बको चियाकफी निर्यात
चालू आर्थिक वर्षको ७ महितनामा १० अर्ब १२ करोड रुपैयाँ बराबरको फलाम तथा फलामजन्य वस्तु निर्यात भएको विभागले जनाएको छ। ८ अर्ब ८ करोड रुपैयाँ बराबरको चिया कफी निर्यात भएको छ। ७ अर्ब ३९ करोड रुपैयाँ बराबरको बुनेको कपडा निर्यात भएको छ।४ अर्ब ३७ करोड रुपैयाँ बराबरको तेलजन्य पदार्थ निर्यात भएको छ।

६ अर्ब ६० करोड रुपैयाँ बराबरको कार्पेट निर्यात भएको छ। ४ अर्ब ५६ करोड रुपैयाँ बराबरको काठजन्य वस्तु निर्यात भएको छ।


सम्बन्धित समाचार