Logo

१० फागुन,काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। आज बसेको बैठकमा राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक २०८० माथि नेमकिपा सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई सभामुख देवराज घिमिरेले निर्णयार्थ पेश गर्दा नेकपा एमालेका सचेतक महेश बर्तौतालले गणपूरक संख्या यकिन गर्न माग गरेका थिए।

त्यसपछि तीन मिनेट घण्टी बजाएर सांसदको संख्या यकिन गर्दा सांसदको संख्या ६९ हुनुपर्नेमा ६५ मात्र भएकाले सभामुख घिमिरेले बैठकको कार्यसूचीको कार्यक्रम हटाई बैठक स्थगित भएको घोषणा गरे।

कुनै पनि विधेयक प्रस्तुत गर्दा कायम सांसदको एकतिहाई उपस्थित हुनुपर्ने नियम नियमावलीमा छ। त्यस्का लागि ६९ जना सांसदहरूको उपस्थिति हुनुपर्ने थियो। यसअघि विभिन्न समयमा पनि सांसदहरूको गणपूरक संख्या नपुगरे बैठक स्थगित हुने गरेको थियो। यसरी पटक–पटक गणपूरक संख्या नपुग्न थालेपछि संसद् सचिवालयले यस अधिवेशनबाट सांसदहरूको डिजिटल प्रविधिबाट हाजिरी व्यवस्था गरेको छ। यद्यपि, सांसदहरूको हाजिर गरेर टाप कस्ने बानी भने हटेको छैन।

सभामुख घिमिरेले प्रतिनिधिसभाको अर्को बैठक भोलि बिहान ११ बजेका लागि बोलाएका छन्।

 


सम्बन्धित समाचार