Logo

११ फागुन, काठमाडौं । खुद्रा तथा साना व्यवसायीको नाउँको सुनको कोटा दुरुपयोग गरी संघका जिम्मेवार पदाधिकारीहरुबाट अवैध कारोवार हुनेगरेको भन्दै संघका केही सदस्यले ग्रुप च्याटमा विरोध जनाएको बिषय बाहिएपछि सुनचाँदी सम्वन्धी कारोवार गर्ने संघ तथा महासंघका पदाधिकारी विचमा भित्र हङ्गामा मच्चिएको छ ।

संघमा रहेका केही पदाधिकारी तथा सदस्यहरुले सुनमा लाग्दै आएको कोटा प्रणाली हटाउनु पर्ने र जिल्ला–जिल्लामा जानुपर्ने सुन बैंकको ट्रेजरी विभागसँगको मिलेमतोबाट कसले कुन मितिमा खरिद गरी कुन व्यवसायीलाई विक्रि गरियो भन्ने कुराको जानकारी दिनु पर्र्नेे माग रत्न तथा आभुषण संघको ह्वाटसएप ग्रुपमा उठाएपछि कारोवारमा संलग्न केही पदाधिकारी विच खैलाबैला मच्चिएको हो ।

ह्वाट्सएप ग्रुपमा राखिएको सूचना असन्तुष्ट सदस्यहरु मार्फत रेसखवरलाई प्राप्त भएको थियो । रत्न तथा आभुषण संघका सदस्यहरुले उठाएको बिषय सार्वजनिक भएपछि अप्ठारोमा पर्ने डरले नेपाल रत्न तथा आभुषण संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्तालाई कार्वाहीगरी संघबाट हटाउने योजनामा अवैध कारोवारमा संलग्न भएकाहरु लागिपरेका छन् ।

संघका वरिष्ठ उपाध्यक्ष गुप्ताले साना तथा खुद्रा व्यापारीको पक्षमा वकाल गर्दै सुनमा केही पदाधिकारीको मात्र हालिमुहाली भएको बिषय उठाएका थिए । उनले साना व्यापारीले व्यवसाय संचालन गर्न नसक्ने स्थिती सृजना भएको भन्दै सुनमा लागेको कोटा प्रणाली खारेज गरिनुपर्ने माग राख्दै आएका थिए ।

दुर्गम तथा पहाडी जिल्लामा जानुपर्ने सुनको कोटा समेत काठमाडौंमा रहेका संघका पदाधिकारीले भरिएका नाउँमा खोलिएका कम्पनी मार्फत अवैध कारोवार गर्दै आएको आरोप संघका सदस्यहरुले लगाएका छन् । सरकारले कोटा प्रणाली मार्फत सुन आयातमा कडाई गरेपनि बजारमा भंसारबाट आयात भएको भन्दा हजार गुणा बढी सुनको कारोवार भइरहेको दावी सुन व्यवसायीहरुको छ ।

सीमित पदाधिकारीहरुले मात्र सुनको कोटा दुरुपयोग गर्दै आइरहेका छन्, संघका एक सदस्यले रेसखवरलाई भने, “बजारमा प्युरिटी कम भएको सुन विक्रि वितरण भइरहेको छ, एक नम्वर सुन त भारत तर्फ तस्करी हुदै आएको छ कसले नियन्त्रण गर्ने ।”

काठमार्डौको न्यूरोडमा रहेका अधिकांश सुन पसलमा भएको गहना अवैध रुपमा भित्रिएको सुनबाट बनाइएको हो । सुनको गुणस्तर परिक्षण गर्ने हो भने धेरै व्यापारी कार्वाहीमा पर्नेछन्, ती सदस्यले भने ।

सुनको धन्दा भित्र फस्टाएको कालो व्यापारको पर्दाफास गर्ने संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्तालाई कार्वाही गर्न संघका अध्यक्ष सुमन ताम्रकार र पूर्व अध्यक्ष जोसना श्रेष्ठ लगायत केही बर्तमान र पूर्व पदाधिकारीहरु लागि परेका छन् । आज गुप्तालाई संघको कार्यालय न्यूरोडमा २.३० बजे भित्र उपस्थित भई मर्यादित रुपमा जवाफ दिन संघले पत्राचार गरेको थियो ।

देशभर संचालनमा रहेका करिव १० हजार सुन व्यवसायीको पक्षमा आवाज उठाउने संघका वरिष्ठ उपाध्यक्ष गुप्तालाई कार्वाही गरे जिल्लाका साना तथा मझौला व्यवसायी र कालिगढहरु विरोधमा उत्रने बताएका छन् ।

कालिगढ संघको समर्थन

नेपाल राष्ट्रिय सुनचांदी कालिगढ संघले रत्न तथा आभुषण संघका केहि पदाधिकारीले एकछत्र रुपमा फर्जी कम्पनी वनाई बैंकको ट्रेजरी विभाग सँग साठगाँठ गरि संघ मार्फत वितरण गरिने कोटा स्टिमको दुरुपयोग गरेको बिषयलाई बाहिर ल्याएकोमा रत्न तथा आभुषण संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्तालाई धन्यवाद सहित समर्थन जनाएको छ ।

नेपाल राष्ट्रिय सुनचांदी कालिगढ संघका केन्द्रीय अध्यक्ष अर्जुन विश्वकर्माले बरिष्ठ उपाध्यक्ष गुप्ताले उठाएको विषय प्रति देशभरका करिब २ लाख कालिगढ सदस्यहरुको समर्थन र साथ सहयोग रहने प्रतिवद्धता जाहेर गरेका छन् ।

उनले सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै सुनको अवैध कारोवारमा देखिएको विकृती र विसंगतिको कारण मझौला र साना व्यवसायी मर्कामा परेको बताएका छन् ।

मझौला र साना व्यवसायी तथा कालिगढहरुमाथि सुनको कृतिम अभाव देखाई कालोवजारीलाई मलजल गर्ने कार्यप्रति नेपाल राष्ट्रिय सुनचांदी कालिगढ संघ सदैव खवरदारी र यस्ता कार्यलाई निरुत्साहित पारी निस्तेज पार्न लागिपरेको छ, विश्वकर्माले भनेका छन् ।

अध्यक्ष विश्वकर्माले सुन भित्र मौलाएको कालोबजारी र अवैध व्यापार नियन्त्रण गर्न रत्न तथा आभुषण संघका वरिष्ठ उपाध्यक्षले उठाएको बिषय तथा उहाँको आंट, साहास र हिम्मतलाई साथ दिन आफ्नो संघको तर्फबाट सहयोग हुने जनाएका छन् ।

उनले वरिष्ठ उपाध्यक्ष गुप्तालाई कसैसँग नडराउन र खुट्टा नकमाउन अनुरोध गरेका छन । अध्यक्ष विश्वकर्माले कुनै दवाव र प्रलोभनमा समेत नपरी आफूले उठाएको बिषयलाई निर्णयक विन्दु सम्म पुराउने गरी दवाव सृजना गर्न गुप्तालाई आग्रह गर्दै आफ्नो संघको नैतिक र भौतिक समर्थन रहने जनाएका छन् ।

दुई दशक देखि सुनको अवैध धन्दा

करिव दुई दशक देखि चलेको सुनको अवैध धन्दा रोक्न सरकारका एजेन्सीहरुले पहल गर्नुपर्ने माग साना तथा मझौला व्यवसायीहरुको छ । संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्ताले उठाएको मुद्धामा सरकारले छानविन गरे सुनको अवैध कारोवार बन्द हुन सक्ने साना व्यवसायीहरुको भनाई छ ।

सुनको व्यापारमा लागेका व्यवसायीले एउटै व्यक्तिले ३ देखि ७ वटा सम्म कम्पनी खोलेर सुनको कारोवार गरेका छन् । अनलाइन विलिङ्मा जादा कारोवारको स्पष्ट डाटा देखिने भएकोले कारोवार छल्नको लागि धेरै कम्पनीबाट कारोवार गर्दै आएको दावी संघका सदस्यहरुको छ ।

सरकारले चाहको खण्डमा संकास्पद पदाधिकारीहरुको बैंक खाता र उनीहरुको कारोवारको ५ बर्षको हिसाव छानविन गर्ने हो भने धेरै व्यवसायी कार्वाहीमा पर्ने देखिन्छ । उनीहरुले कार्वाहीबाट जोगिन विभिन्न शक्ति केन्द्रमा धाउन थालेका छन् ।


सम्बन्धित समाचार