Logo

१८ फागुन,वीरगञ्ज । विद्यार्थीहरुका लागि रात्री बजारको अवधारणा अनुरुप वीरगञ्जमा दुईदिने खाना तथा सास्ंकृतिक मेला सुरु भएको छ । ‘सिक्दै कमाउदै कार्यक्रम’ अन्तर्गत वीरगञ्ज कलेजले दुईदिने ‘खाना तथा सांस्कृतिक मेला’ आयोजना गरेको हो ।

वीरगन्जको घण्टाघरदेखि उत्तरतर्फको फुटपाथमा आयोजित मेलाको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले उद्धघाटन गरे । आज र भोली दिउँसो २ बजेदेखि राति १० बजेसम्म चल्ने मेला विद्यार्थीहरुमा सिक्दै कमाउदैको अवधारणा विकास गर्न, उद्यमशिलताको अवधारणालाई विकास गर्न र बारा पर्साको लोक सांस्कृतिक तथा परम्परागत खानाको प्रवद्र्धन गर्नका लागि आयोजना गरिएको कलेजका अध्यक्ष डाक्टर दिपेन्द्र कुमार चौधरीले जनाए ।

यस मेलाले विद्यार्थीहरुमा सिक्दै कमाउदैको अवधारणा विकास भई विद्यार्थीहरुलाई प्रोत्साहन गर्नुको साथै उद्यमशिलता विकासमा पनि टेवा पुग्ने उनको विश्वास छ । मेलामा ३२ वटा विभिन्न खानाका परिकारको स्टल रहने र १५ देखि २० हजार दर्शक आउने कलेजको अनुमान छ ।

गतबर्ष कलेजले पहिलो पटक आयोजना गरेको खाना तथा सांस्कृतिक मेलाले विद्यार्थीहरुमा हौसला प्राप्त भएको र यसवर्ष पनि विद्यार्थीहरुले स्वस्फूर्त रुपमा मेलामा सहभागिता जनाएको कलेजले जनाएको छ ।

मेलामा कलेजका पूर्व विद्यार्थीहरुको सांस्कृतिक कार्यक्रम रहने कलेजका प्रमुख विनोद गुप्ताले बताए ।


सम्बन्धित समाचार