Logo

१९ फागुन,काठमाडौं। कारागार कार्यालय, नक्खुमा १२ दिन अघि सुरु भएको विपश्यना ध्यान शिविर आज समापन भएको छ।समारोहमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ समेत उपस्थित हुनुहुन्थ्यो।

शिविरमा ४३ जना कैदीबन्दी र ३ जना सुरक्षाकर्मी सहभागी हुनुहुन्थ्यो। सहभागीलाई आचार्य ज्ञानदर्शन उदास लगायतले ध्यान सिकाउनुभएको थियो।

कारागार कार्यालय, नक्खुमा निर्मित विपश्यना केन्द्र ’धम्मासय’को उद्घाटनसँगै शिविर सुरु भएको हो। नेपाल विपश्यना केन्द्रको सहयोगमा सो केन्द्रको निर्माण भएको हो।

शिविरको समापन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले सामाजिक न्याय, सुशासन र समृद्धिको सरकारको अभियानमा जेल सुधार पनि एक महत्वपूर्ण पक्ष भएकोले कैदीबन्दीको अधिकार एवम् रुपान्तरणलाई सरकारले ध्यान दिएको बताउनुभयो।

ध्यानले आफ्नै रुपान्तरण गर्ने भएकोले १२ दिनसम्म सिकेको यस बिधिलाई दैनिक र जीवनभर प्रयोगमा ल्याएर उदाहरणीय बन्न उहाँले कैदीबन्दीहरूलाई आग्रह गर्नुभयो।

सहभागीमध्येले शिविर अवधिका अनुभव सुनाउँदै ध्यानले सकारात्मक सोच्न र सच्चिन धेरै मद्दत गर्नसक्ने बताउनुभयो।


सम्बन्धित समाचार