Logo

२० फागुन,वीरगञ्ज । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रको विकासमा कुनै कसर बाँकी नराख्ने बताएका छन् । नेपाल चिकित्सक संघ जनकपुरशाखाको तत्वाधानमा नेपाल चिकित्सक दिवसको अवसरमा जनकपुरमा शुरु भएको मधेश स्वास्थ्य शिखर सम्मेलन २०२४ को समुद्धघाटन सत्रमा बोल्दै उनले यस्तो बताएका हुन् ।

मुख्यमन्त्री यादवले समृद्धिका लागी शिक्षा र स्वास्थ्यलाई मधेश सरकारले पहिलो प्राथमिकतामा राखेर काम अघि बढाएको जनाए । प्रदेश मातहतका प्रादेशिक अस्पतालहरुलाई १०० बेडमा स्तरोन्नति गर्नुका साथै थप ५ वटा अस्पताललाई ५० शय्याको परिवर्तन गर्ने कार्य भइरहेको उनको भनाइ छ ।

शिक्षा र स्वास्थ्यलाई राजनीतिबाट टाढा राख्नुपर्ने बताउँदै मुख्यमन्त्री यादवले सोका लागि सरकार र समुदाय हातेमालो गर्दै अघि बढ्नुपर्ने धारणा राखे ।
स्वास्थ्य क्षेत्रमा देखिएका समस्याको समाधान भौतिक प्रगतिले मात्र नहुने उल्लेख गर्दै उनले भने, ‘प्रदेश सरकार स्वास्थ्य संस्थाको भौतिक पूर्वाधार व्यवस्थापनको क्षेत्रमा तीब्र गतिमा अघि बढेको छ ।

अव चिकित्सकहरुले आफनो धर्म निर्वाह गर्नुपर्छ । हामी मेसिन ल्याउछौँ, चलाउने जिम्मा तपाइहरुको ।’
मधेश सरकारले लागि ४५ वर्ष उमेर हदका आधारमा करार चिकित्सकहरु नियुक्ति गर्न लागेको जनाउँदै चाँडै कानून संशोधन गरेर लोक सेवामा समेत सोही उमेर निर्धारण गर्ने प्रतिवद्धता जनाए ।

चिकित्सकहरुको पारिश्रमिक सम्बन्धि गुनासोलाई सम्बोधन गर्न मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुलाई थप ४० प्रतिशत भत्ता दिन सुरु गरेको मुख्यमन्त्री यादवले बताए ।
कार्यक्रममा मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसङख्या मन्त्री विरेन्द्रप्रसाद सिंहले सरकारको पहलले मात्र स्वास्थ्य क्षेत्रको सुधार सम्भव नरहेको बताए । उनले स्वास्थ्य क्षेत्रका समस्याहरु समाधानका लागि चिकित्सहरुलाई इमान्दार पूर्वक काम गर्न आग्रह गरे ।

शिखर सम्मेलनले निकाल्ने निष्कर्ष प्रदेश सरकारका लागि मार्ग दर्शन हुने बताउँदै उनले त्यसलाई आफुहरुले सहर्ष ग्रहण गर्ने प्रतिवद्धता जनाए ।
चिकित्सक संघ जनकपुर शाखाका अध्यक्ष डा. रामजी यादवको अध्यक्षतामा सम्पन्न उद्धघाटन सत्रमा प्राध्यापक डा. जयनाथ साह, डा. निरज सिंह, डा.अनिल बिक्रम कार्की लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


सम्बन्धित समाचार