Logo

२१ फागुन,काठमाडौँ । सत्ता समीकरण परिवर्तन हुने निश्चित भएपछि नयाँ समीकरण निर्माणका लागि प्रमुख दलका शीर्ष नेताहरूको बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा तीन दलका शीर्ष नेता सहभागी छन् ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन, एमालेका अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल सहभागी छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि बालुवाटार बैठकमा छन् । नेताहरूबिच आजै नयाँ मन्त्रिमण्डल पुनर्गठन गर्नेबारे छलफल भइरहेको छ ।

हिजो राति बालुवाटारमा भएको सहमति अनुसार कांग्रेस नेतृत्वको गठबन्धन भत्काएर एमालेसहितको नयाँ सत्ता समीकरण बनाउन नेताहरू सहमत भएका छन् । सोही अनुसार एमाले सचिवालय बैठक बसेर नयाँ सरकार गठन, सरकारमा सहभागी हुने दल, दलबाट पहिलो चरणमा पठाइने मन्त्री र मन्त्रालयको भागबन्डा गर्न नेताहरू बालुवाटारमा छलफलमा जुटेका हुन् ।

नेताहरूका अनुसार नयाँ गठबन्धनमा एमाले, माओवादी, रास्वपा, जसपा, जनमत र नाउपाको बन्ने लगभग पक्का भए पनि अन्तिम निर्णय गर्न बाँकी रहेको छ ।


सम्बन्धित समाचार