Logo

२४ फागुन,वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साको हाताभित्र कर्मचारी मिलन केन्द्रले प्रयोग गर्दै आएको भवनको भाडा राजस्वमा दाखिला हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साको पूरानो भवनदेखि पूर्वतर्फ एकतले भवनलाई कर्मचारी मिलन केन्द्रले प्रयोग गर्दै आएको थियो । त्यसपछि जिल्ला प्रशासन कार्यालयको नयाँ भवन निर्माण शुरु भएपछि प्रमुख जिल्ला अधिकारीको कार्यकक्ष बनाईएको थियो ।

नयाँ भवन बनेपछि उक्त भवनमा अहिले सटर निकालिएको छ । पहिले भवन रहेको अवस्थामा भने कर्मचारी मिलन केन्द्रले प्रयोग गर्दै आएको थियो । उक्त भवनको अगाडि सटरहरु बनेपछि कर्मचारी मिलन केन्द्रले नै भाडा उठाउने दाउमा थियो ।

तर, पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले कर्मचारी मिलन केन्द्र भवन रहेको सटर भाडा राजस्वमा दाखिला गर्ने प्रकृयामा लान निर्देशन दिएका छन् । राज्यको सम्पत्ति कुनै संस्थाको लागि प्रयोग गर्न दिन नहुने भन्दै प्रमुख जिल्ला अधिकारी भुसालले सटर भाडाबाट उठेको रकम राजस्वमा दाखिला गर्न आफूले निर्देशन दिएको बताए ।

उनले भने, ‘पहिले कर्मचारी मिलन केन्द्रले भवन प्रयोग गर्दै आएको रहेछ । जिल्ला प्रशासन कार्यालयको नयाँ भवन बनेपछि सटर निकालिएको रहेछ । त्यो सटर भाडा कर्मचारी मिलन केन्द्रले उठाउने तयारी गरिएको रहेछ । त्यसलाई रोकेर राजस्वमा दाखिला गर्न निर्देशन दिएको छु ।’

कर्मचारी मिलन केन्द्र भनेको कर्मचारीहरुको हकहितका लागि स्थापित संस्था भएकोले कर्मचारीहरुबाट सहयोग संकलन गरेर चलाउनुपर्ने बताउदै संस्थाको नाममा राज्यको सम्पक्ति चलाउन दिनु अख्तियारको दुरुपयोग हुने बताए ।
उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग पनि सल्लाह लिएर नै आफूले कर्मचारी मिलन केन्द्रको भवनको सटरबाट उठ्ने भाडा रकम राजस्वमा दाखिला गर्न भनेको बताए ।

 


सम्बन्धित समाचार