Logo

२१ चैत,सेढवा । पर्साको सखुवाप्रसौनी गाँउपालिका–६ लखनपुर स्थित हुलाकी सडकमा मंगलबार बेलुकी दुई वटा मोटरसाईकल आपसमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा दुबै मोटरसाइकलका चालक गम्भीर घाइते भएकोमा एक जनाको अस्पताल पुर्‍र्याउने क्रममा बाटोमै मृत्यु भएको हो ।

गण्डक नहरभन्दा उत्तरपट्टि सखुवाप्रसौनी–६ अन्तर्गतको लखनपुर र जगर्नाथपुर गाउँपालिका अन्तर्गतको प्रसौनी गाउँको बिचमा रहेको हुलाकी सडकमा बेलुकी ८ बजेतिर दुई विपरीत दिशाबाट आउँदै जाँदै गरेका ना ७ प २६०३ र प्रदेश २–३ ००९ प ५३१५ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको थियो । दुर्घटनामा दुवै मोटरसाइकलका चालक गम्भीर घाइते भएका थिए ।

स्थानीयबासी र प्रहरीले दुवै घाइतेलाई उद्धार गरी उपचारका लागि वीरगन्ज पठाएका थिए ।
दुईजनामध्ये ना ७ प ५३१५ नम्बरको मोटरसाइकल चालक पर्साकै जगरनाथपुर गाँउपालिका–४ सुहपुरका अन्दाजी ३० वर्षीय हरिन्द्र चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जनाए ।

अर्का गम्भीर घाइते पर्साकै वीरगन्ज महानगरपालिका– ३ छपकैयाका ४२ वर्षीय शेख जावेद आलमको भने नारायणी अस्पतालको आइसियुमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको प्रवक्ता थापाले बताए ।

घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनायो ।


सम्बन्धित समाचार