Logo

९ वैशाख,सेढवा । पर्साको छिपहरमाई गाउँपालिकास्थित कुखुरा फर्मबाट शनिबार दिउँसो एक्कासी आगो लाग्यो । गाउँपालिको वडा नम्बर १ भलुवहिया टोलमा छिमेकी राज्य भारतको बसनपुरमा गँहु खेतमा लगाइएको आगोको झिल्का उछिट्टिएर पर्सामा सल्किएको थियो । आगोले ४ वटा घर, एक कुखुरा फर्म, गोठ पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

यही दिन पर्साको जीराभवानी गाँउपालिकामा पनि आगलागी भयो । आगलागीबाट वडा नम्बर ३ निवासी सोमनाथ साह तेलीको ५ बिघा गँहु जलेर नष्ट भएको इलाका प्रहरी सेढवाले जनायो ।
त्यतिमात्रै होइन, शनिबार पर्साकै पटेर्वासुगौली गाउँपालिकामा भएको आगलागीबाट १० कठ्ठा गँहुबाली जलेर नष्ट भएको उपाध्यक्ष ममता महतोले बताइन् ।

त्यस्तै शनिवार पटेर्वासुगौली गाउपालिका वडा नम्बर ४ पथरैयामा पनि आगोका कारण किसानको १० कट्ठा गँहुबाली नष्ट भएका गाउँपालिका उपाध्यक्ष ममता महतोले बताईन् ।
एकैदिन ४ ठाँउमा आगो लाग्नु अपवाद हैन, तर पनि स्थानीय निकाय र सम्बन्धित निकाय यसको पूर्व तयारीप्रति गम्भिर देखिएका छैनन् ।

लामो समयको खडेरी, अत्याधिक गर्मी र ठूलो हावाहुरी आउँदा पर्साको ग्रामीण भेगमा आगलागीका घटनाहरु वृद्धि भएका छन् । पर्सामा गर्मीयाम सुरु भएसँगै आगालागीका घटनाहरुसमेत बढेका छन् ।
आगलागीबाट लाखौँ मूल्यका धन, पशु, अन्नवाली लगायतको क्षती हुने गरेको छ । जिल्लामा १४ वटा स्थानीय सरकार छन् । जसमध्ये वीरगंज महानगरपालिका, पोखरिया नगरपालिका र सखुवाप्रसौनी गाँउपालिकाले आगो निभाउन वारुणयन्त्र (दमकल) संचालन गर्दै आएका छन् ।

अन्य ११ पालिकामा दमकल नभएकाले यी ३ पालिकाले मात्र सेवा दिने गरेका हुन् ।
पालिकाको दमकलले ठोरीदेखि बारा जिल्लासम्म सेवा प्रवाह गर्दै आएको पोखरिया नगरपालिकाका नगरप्रमुख प्रधुमन चौहानले बताए । ५÷६ जना कर्मचारीको तलब भत्ता, इन्धन र अन्य खर्च गरी वार्षिक १४÷१५ लाख रुपैया खर्च हुने गरेको उनले बताए ।

अन्य पालिकामा समेत सेवा प्रदान गर्दा खर्च बढ्ने र पटकपटक समन्वय गरिदिन आग्रह गरेकोमा सहयोग नपाएको उनको गुनासो छ ।
पटेर्वासुगौली गाँउपालिकाका अध्यक्ष दिनेशकुमार चौधरीले यसवर्ष नयाँ एम्बुलेन्स खरिद गरेकोेले दमकल खरिद गर्न नसकेको जनाए । आगामी वर्ष कार्यपालिका पदाधिकारीसँग सल्लाह गरी आन्तरिक राजश्वको रकमको व्यवस्थापन भए दमकल खरिद गर्ने योजना रहेको उनले सुनाए ।

जिल्लाका हरेक पालिकाका पालिकाका प्रमुखका लागि एउटा र हाकिमका लागि एउटा चारचक्के गाडी उपलब्ध गराइएको छ । उनीहरुका लागि पालिकाको गाडी नभए भाडामा लिएर भएपनि निजी गाडीहरु परियोजनमा ल्याइन्छ ।
यस्तै प्रत्येक पालिकामा कर्मचारीहरुका दर्जनौ मोटरसाइकल खरिद गरिएका छन् । ति सवारीसाधनको मर्मत तथा इन्धन खर्च समेत पालिकाबाटै भइरहेको महालेखा परिक्षणको प्रतिवेदनले देखाएको छ ।
आगलागीका कारण बार्षिक लाखौ मूल्य बराबरको धनजनको क्षति भइरहँदा समेत स्थानीयन पालिका प्रमुख यस विषयमा मौन देखिन्छन् ।

आमनागरिकको लापरवाही नै आगलागीको प्रमुख कारण देखिन्छ । तर पनि पालिकाहरुले विभिन्न शीर्षकका कार्यक्रम सञ्चालनमा ल्याउँदा आगलागीका विषयमा भने चासो नदेखाएको र कुनै पनि जनचेतना मूलक कार्यक्रमहरु ल्याएका छैनन् ।

आगलागीका कारण अन्नबालीसँगै धन, पशु तथा मानवीय क्षतीसमेत हुने भएकाले यस विषयमा ध्यान दिन जरुरी रहेको बुद्धिजीवीहरु बताउँछन् ।


सम्बन्धित समाचार