Logo

१० वैशाख,सेढवा । किसानहरुले गँहुका ठुटा जलाउनका लागि आगो लगाउदा आगलागीका जोखिम बढ्नुको साथै वातावरण प्रदुषित भएको छ । डिभिजन वन कार्यालय पर्सा अन्तर्गतका राष्ट्रिय वनमा पटक पटक डढेलो लागिरहेकाले उत्पन्न धुवाका कारण वातावरण प्रदुषित भएको हो ।

किसानहरुले गँहुबाली भित्र्याई सकेर खेतमा रहेका गँहुका ठुटा र छवालीमा आगो लगाई अव्यवस्थित तरिकाबाट नष्ट गर्ने गर्दछन् । चर्को घाम तथा तिव्र चल्ने हावाका कारण आगलागी हुने जोखिम बढेका छन् ।
मानव बस्तीसँग जोडिएका खेतवारीमा आगो लगाउदा गाउँबस्तीमा पनि आगो लाग्ने जोखिम बढ्दो छ ।

यसका साथै वनको डढेलो र गँहुबारीमा छवाली ठूटोमा लागेका आगोका कारण निस्केको धुवाँले वातावरण नै दूषित बनाएको हो । यस्तै खडेरीका कारण ग्रामीण भेगका कच्ची तथा ग्राभेल सडकहरु धुलाम्य बनाएको छ । भने हावाले धुलो उडाउँदा वायु प्रदूषण बढेको छ । धुवा र धुलोको मिश्रित हावाका कारण मानव जीवनको स्वास्थ्यमा प्रत्यक्ष रुपले नकारात्मक असर परेको छ ।

दुषित वातावरणका कारण बिहान हुस्सु लागेका जस्तो धुवाँले ढाकिएको देखिन्छ । यस्तै आखाँबाट आसु आउने, आखाँ पोल्ने, आँखा पाकेर सुनिने र रातो हुने तथा छालामा बिभिन्न किसिमका चर्मरोगबाट यस भेगका मानिसहरु ग्रसित छन् । आगलागी तथा डढेलोबाट निस्केको धुवाँले बिशेष गरि जङ्गलसंग सिमा जोडिएका ठोरी गाउँपालिका, जीराभवानी, जगरनाथपुर, पटेर्वासुगौली गाउँपालिका, पर्सागढी नगरपालिकाका बासिन्दाहरुमा यस्ता समस्या देखिएको स्थानियहरुको गुनासो छ ।

पटेर्वासुगौली गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख भुजेन्द्र यादवले धुवाँ धुलो मिसिएका हावाका कारण मानवको स्वास्थ्य असर परेको बताए । तातो तथा प्रदूषित हावाले आँखा र श्वासप्रस्वासमा सबैभन्दा बढी असर पु¥याएको उनले जनाए ।
यस्तै हावा चलिरहे मानव शरिरमा खतराजनक रोगको संक्रमण देखापर्ने उनको भनाइ छ । उनले अहिलेको समयमा केहि समस्या देखा परे स्वास्थ्य संस्थामा चेकजाच गराउन आग्रह गरे ।

सब–डिभिजन वन कार्यालय बसन्तपुरका प्रमुख सुमन पान्डेले वनमा डढेलो नलाग्न जंगलमा प्रबेश गर्नेहरुलाई जाँच गरि मात्र जान दिने गरेको बताए । उनले जंगल प्रवेश गर्नेहरुसँग सलाई तथा लाइटर बरामद भए खोस्ने गरेको जानकारी दिए । तरपनि जंगलको सिमा खुल्ला भएकाले गोठालो जाने तथा दाउरा लिन जानेहरुले जंगलमा आगो लगाउने गरेका उनको जिकिर छ ।

गँहुबालीबाट निस्केका छवाली तथा ठुटो लामो समयसम्म नकुहिदा बाध्य भएको किसानको भनाइ छ । खाली जमिनमा चैते धान रोप्नु परेकाले पनि अहिले सुख्खा भएका बेला जलाउने गरेको किसानहरुले बताएका छन् ।


सम्बन्धित समाचार