Logo

फाइल फोटो

११ वैशाख,वीरगञ्ज । पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १७ अलौंमा आगलागीबाट लाखौं धनमालको क्षति भएको छ । आज बिहान ३ बजेको समयमा भएको आगलागीबाट ५३ लाख ९० हजार मूल्य बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।

उनका अनुसार स्थानीय महेन्द्र सहनीको फुसको घरमा विद्युतको तार सर्ट भई अचानक आगलगी हुँदा छिमेकका सात घरमा समेत आगो सल्किएर घर पूर्ण रुपमा जलेर नष्ट हुँदा धनमालको क्षति भएको हो । आगलागीबाट महेन्द्र सहनीको घर जल्दा अन्नपात, लत्ता कपडा, सरसामान, सुन चाँदी तथा चौपाया एउटा गाई, ४ वटा बाख्रा अन्दाजी १० लाख ६३ हजार, मैना सहनीको घर जल्दा अन्नपात, लत्ता कपडा, सरसामान, चौपाया २ वटा बाख्रा, २ वटा खसि गरी जम्मा ८ लाख ६८ हजार क्षति भएको प्रहरी प्रवक्ता थापाले बताए ।

त्यस्तै बिरेन्द्र सहनीकोे ४ लाख ८० हजार तुफान सहनीको ११ लाख ६० हजार, सोही स्थानका फुलदेव सहनीको ४ लाख १६ हजार, अभय सहनीको ७ लाख ८० हजार, अदालत साहको ६ लाख २३ हजारको धनमाल जलेर नष्ट भएको छ । सात घरको अन्नपात, भाँडाबर्तन लत्ताकपडा र पशुचौपाया गरी ५३ लाख ९० हजार बराबरको धनमालको क्षति भएको हो । वीरगन्ज महानगरपालिकाको दमकल, सुरक्षाकर्मी र स्थानीयहरुको सहयोगमा बिहान पाँच बजे पूर्ण रुपमा नियन्त्रणमा आएको पर्सा प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार