Logo

२ जेठ, बारा । ‘प्रादेशिक अस्पतालमा न दवाई भेट्छ न डाक्टर नै’, यो कस्तो अस्पताल हो ? गुनासो गर्छन् विरामीहरु । बाराको कलैया स्थित प्रादेशिक अस्पताल, कलैया अस्पतालमा आकस्मिक सेवा बाहेकका ओपीडी सेवाको रसिद काट्ने समय १२ बजेपछि सकिन्छ भने २ बजेपछि डाक्टर भेट्ने गरेका छैनन् ।

अझ प्रादेशिक अस्पताल (कलैया अस्पताल) मा कुनै औषधि पाइँदैन र सबै औषधि बाहिर पैसा तिरेर किन्नुपर्ने तथा भिडियो एक्सरे पनि बाहिरबाट गरेर ल्याउन चिकित्सकले भन्ने गरेको विरामीहरुले बताएका छन् ।

गाउँगाउँबाट भाडाको गाडी चढेर ढिलो गरेर अस्पताल पुगेका विरामीहरु ओपिडि पुर्जीको लाईनमै बसेर उपचार नपाई घर फर्कने गरेका छन् । भाडाको गाडी चढेर गाउँबाट अस्पताल पुग्दा ११ बज्छ भन्दै आदर्श कोतवाल गाउँपालिका वडा नं ५, रुपौलिया टोलका रामनरेश प्रसाद यादवले ११ बजे अस्पतालको लामो लाइनमा बस्दाबस्दै रसिद काट्ने समय गुज्रिने गरेको बताए ।

पुनः उपचारका लागि अर्को दिन अस्पताल धाउँदा खर्च र समय उस्तै लाग्छ । कलैया अस्पतालमा आकस्मिक सेवा बाहेकका ओपीडी सेवाको रसिद काट्ने समय १२ बजेपछि सकिन्छ भने २ बजेपछि डाक्टर नै नभेट् गरेको उनले भने ‘रसिद काट्ने समयको दायरा बढाउन जरुरी छ । ’

अस्पतालमा पहुँच भएका केही सीमित राजनीतिक दलका नेता, कार्यकर्ता, कर्मचारी र जनप्रतिनिधिहरूले मात्रै सेवा पाएको तर ज्येष्ठ नागरिक, विपन्न महिला तथा बालबालिकाले कुनै सेवा सुविधा नपाएको स्वास्थ्य बीमा कार्यक्रम बारा जिल्लाका प्रमुख रमेश खनियाँको आरोप छ ।

यता जनशक्ति अभावको कारण समस्या भएको मेडिकल सुपरिटेन्डेन्ट डा. अजय कुमार गुप्ताले बताए । ४ जना डाक्टरहरु रहेको र एक जनाले मात्र ५० जना विरामी हेर्ने लिमिटको व्यवस्थाका कारण समस्या भएको उनले बताए । कलैया अस्पतालमा डाक्टरको दरबन्दी भनेको ४ जना हो, तर कम्तीमा ९ जना डाक्टर चाहिएको मेसु गुप्ताले बताए ।

स्वास्थ्य बीमाको रेफरमात्रै दैनिक २०० देखि ३०० जना आउँछन्,’ ‘४ जना डाक्टरले दैनिक ४०० देखि ५०० बिरामी हेर्ने गरेको मेसु गुप्ताको भनाई छ ।
औषधी अभावको बारेमा कुरा गर्दा उनी स्वास्थ्य बीमा बापतको रकम सङ्घीय सरकारबाट प्रत्येक महिनामा भुक्तानी भएमा औषधि खरिद लगायत अस्पताल सञ्चालन गर्न सहज हुने बताए ।

अस्पतालका प्रमुख डा. गुप्ताले कलैया अस्पतालमा मुटुरोग, थाइराइड, मधुमेह, नसासम्बन्धी सबै उपचार, महिला रोग विशेषज्ञ, हाडजोर्नी रोग विशेषज्ञ, भिडियो, अल्ट्रासाउण्ड, हर्नियाको शल्यक्रिया, इण्डोस्कोपी सर्जरी, डाइलासिस लगायतको सुविधा भएको जनाए ।

प्रादेशिक अस्पताल कलैयामा ४ जना डाक्टरसहित १२५ जना स्वास्थ्यकर्मीको टोली छ । अस्पताल सञ्चालन गर्न स्थानीय तहको कुनै सहयोग छैन भने सङ्घीय सरकार, स्वास्थ्य मन्त्रालयले सामाजिक सेवा इकाई मार्फत वार्षिक २० देखि २५ लाख रुपैयाँ सहयोग गर्दै आएको छ । प्रदेश सरकारबाट निःशुल्क औषधि, इन्धन, सौन्दर्यीकरणमा बजेट आउने गरेको अस्पताल व्यस्थापन समितिका अध्यक्ष प्रकाश चौलागाई भने ।

चालु आर्थिक वर्षमा अस्पतालको भवन निर्माणका लागि मधेस प्रदेश सरकारबाट २ करोड बजेट विनियोजन भएर डीपीआरको काम भइरहेको अस्पताल प्रशासनले जनाएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष चौगाँईले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन अनुगमन समिति बनाउन आवश्यक भएको बताए ।


सम्बन्धित समाचार