Logo

९ जेठ,वीरगञ्ज । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारीका बहुआयामिक आवश्यकतालाई एकद्वारबाट सहयोग गर्ने उद्देश्यका साथ देशका सातै प्रदेशमा श्रमाधान रोजगार मेलाको आयोजना गर्ने भएको छ ।

आवश्यक सिपसहितको जनशक्ति खोजिरहेका रोजगारदाता र रोजगारीको खोजीमा रहेका युवालाई एक ठाउँमा मिलन गराउने गरी यही १७ गतेदेखि ३० गतेसम्म प्रदेशस्तरीय श्रमाधान रोजगार मेलाको आयोजना गर्न लागेको जनाएको छ । पत्रकार सम्मेलनमा प्रत्येक प्रदेशमा दुई दिनसम्म चल्ने उक्त मेलामा सम्बन्धित प्रदेशमा रहेका रोजगारदाता प्रतिष्ठान, उद्योग, कम्पनी र रोजगारीको खोजीमा रहेको सहभागिता रहने जानकारी दिइयो ।

पत्रकार सम्मेलनमा श्रममन्त्री डोलप्रसाद अर्यालले प्रत्येक प्रदेशमा दुई दिनका दरले १४ दिनसम्म सञ्चालन हुने श्रमाधान रोजगार मेलाको उद्देश्य उचित दक्ष जनशक्तिको खोजीमा रहेका रोजगारदाता र रोजगारीको खोजीमा रहेका जनशक्तिबिचको पुलको काम गर्ने रहेको जानकारी दिए । मन्त्री अर्यालले मेलामा श्रमाधान अवधारणाको सातै प्रदेशमा जानकारी गराउने, सिप सिकाइलाई प्रवर्धन गर्ने, उद्यमशीलता प्रोत्साहन गरिने बताए ।

कुन प्रदेशमा कहिले ?

श्रमाधान रोजगार मेला कोशी प्रदेशको विराटनगरमा यही १७ देखि १८ गतेसम्म मधेश प्रदेशको वीरगन्जमा १९ देखि २० गतेसम्म सञ्चालन गरिनेछ । यसैगरी गण्डकी प्रदेशको पोखरामा २१ देखि २२ गतेसम्म लुम्बिनी प्रदेशको बुटवलमा २३ देखि २४ गतेसम्म, कर्णाली प्रदेशको सुर्खेतमा २५ देखि २६ गतेसम्म मेला चल्नेछ ।

त्यस्तै सुदूरपश्चिम प्रदेशको धनगढीमा २७ देखि २८ गतेसम्म र बागमती प्रदेशको ललितपुरमा २९ देखि ३० गतेसम्म मेला सञ्चालन गरिने सोही पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।


सम्बन्धित समाचार