Logo

११ जेठ,काठमाडौँ । प्रमुख दलका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरू भएको छ।

संसद्मा अड्किएको गाँठो फुकाउने कसरतस्वरुप प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्का प्रमुख दलका शीर्ष नेतालाई बालुवाटारमा बोलाएका हुन् ।

शुक्रबार बिहान शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग संवाद गरेका प्रधानमन्त्रीले शीर्ष नेतासँग छलफल गर्न लागेका हुन् ।बालुवाटारमा भइरहेको बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी छन्।

त्यसैगरी प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट नेताहरू कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक सहभागी छन् । उता माओवादी केन्द्रबाट प्रमुख सचेतक हितराज पाण्डेसहितका नेताहरू पनि सहभागी छन् ।

शुक्रबार बिहान बसेको कार्यदलको बैठकले पनि सहकारी ठगी प्रकरण छानबिन समितिको कार्यादेश तय गर्न सकेको थिएन । त्यसपछि बसेको संसद् बैठकमा पनि नेपाली कांग्रेसले अवरोध गरेको थियो। संसद् खुल्न नसकेको अवस्थामा नेताहरू शीर्ष तहमै छलफलका लागि जुटेका हुन् ।


सम्बन्धित समाचार